गाडी चढ्न नसक्ने ‘आकाशे’ पुल : प्रयोगमा ल्याउन थप खर्च गरिँदै
हुलाकी सडक अन्तर्गत कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ५ पवेरास्थित कटैनी खोलामा बनेको पुल निर्माण भएको दुई वर्ष बितेपनि प्रयोगविहीन अवस्थामा छ । पुल सवारीमैत्री छैन ।
कल्भर्ट आवश्यक हुने स्थानमा पुल बनाएकै कारण यो अवस्था सृजना भएको हो । पुल छ, तर गाडी चढ्दैन । आवश्यक भन्दा बढी उचाईमा पुल बन्दा सवारी आवागमनमा समस्या छ नै आसपासमा बनेका भौतिक संरचनामा पनि असर पुगेको छ ।
पुलको उचाई जमिनको सतहभन्दा झण्डै तीन मिटर र खोलाको सतह भन्दा साढे चार मिटर उचाईमा छ । खोलामा पुल बनेपनि अधिकांश सवारी साधान खोलाकै बाटो भएर वारपार गर्छन् । वर्षातको बेलाबाहेक खोलामा पानी हुँदैन । सवारी साधान पुल भन्दा पनि खोला हुँदै आवतजावत गर्छन् । अहिले बर्खामा भने खोलामा पानी हुँदा पुल आवश्यक हुन्छ । तर आवश्यक भन्दा बढी उचाई भएको पुलमा सवारी गुडाउन सहज छैन ।

सो क्षेत्रमा सबैभन्दा बढी प्रयोगमा आउने गोरु गाढा अग्लो पुलमा चढ्नै सक्दैनन् । लोड भएका अन्य सावारी साधनहरु पनि सो पुल भएर चल्न सक्दैनन् । अटो रिक्सा झनै गाह्रो । निकै उचाइमा बनेको पुल चढ्न समस्या भएपछि पुल मुनिकै खोलाको बाटो हँदै हिँड्नुपर्ने बाध्यता रहेको स्थानीय तपराज चौधरीले बताए ।
‘सडकको सतह भन्दा धेरै उचाईमा पुल निर्माण हुँदा ट्याक्टर, साइकल, गोरुगाडालगायत सवारीसाधन पुलमा उक्लिनै मुस्किल पर्छ,’ उनले भने, ‘गोरुगाडा र सामान बोकेका रिक्सा त चढाउनै सकिन्न ।’ उनका अनुसार लोड गरिएका ट्याक्टर पनि पुलमा चढ्न समस्या हुन्छ ।
बर्खा खोलामा पानी भएका कारण मुस्किलले चढ्न सक्ने सावारी साधान बाध्यताले पुल प्रयोग गर्थे ।
हिउँदको समयमा भने यो पुल प्रयोगविहीन अवस्था हुने गर्छ । अझै पनि हिलो भएपनि खोलामा जानसक्ने अवस्थामा सवारी साधान खोलाकै बाटो भएर चल्ने गर्छन् । उक्त पुल हुलाकी राजमार्ग आयोजना कार्यालय धनगढीले एक करोड २० लाख रुपैयाँ लागतमा निर्माण गरेको हो ।
पुलको उचाइ अनुसार सडक उठाउने हो भने त्यहाँ भएका घरहरु सबै तल पर्छन् खोला हुँदै जाने बाटो पनि अवरुद्ध हुनेछ । दुई वर्षअघि निर्माण सम्पन्न भएको पुल २२ दशमलव ८५ मिटर लामो छ । कल्भर्ट आवश्यक पर्ने सानो खोलामा पुल बनाउनु नै प्राविधिक त्रुटि भएको हुलाकी सडक आयोजना कार्यालय धनगढीका इन्जिनियर पदम मडैले स्वीकार गरे ।
पुल अग्लो हुँदा प्रयोगविहीन भएको उनले बताए । उनकाअनुसार स्थानीयको विरोधपछि हुलाकी सडक आयोजना कार्यालय धनगढीले पुलको उचाइ घटाउन केन्द्रलाई सिफारिस गरेको थियो । तर, केन्द्रले डिजाइन परिवर्तन गर्न नमानेपछि पुरानै डिजाइनमा पुल बनेको हो ।
थप खर्च
ईन्जिनियर मडैकाअनुसार सो पुलसंग सडकको ‘लेभल’ मिलाउन पुलको दुबैतिर करिब एक सय मिटर टाढाबाट सडकको उचो गर्नुपर्छ । यसका लागि सडक आयोजनाले काम सुरु गरिसकेको छ । पुल प्रयोगमा ल्याउन मिल्ने बनाउन थप करिब ६० लाख रुपैयाँ खर्च गरिँदै छ ।

पुलको दुवैतिरको साढे तीन सय मिटर लामो बाटोको उचाइ बढाउन लागिएको इन्जिनियर मडैले जानकारी दिए । उनले पुलको पूर्वतिर डेढ सय र पश्चिमतिर दुई सय मिटरसम्म सडकलाई अग्लो बनाउने कार्य अघि बढेको बताए । बर्खायाम सकिएलगत्तै बाटो अग्लो बनाउने काम सुरु हुने इन्जिनियर मडैले बताए ।
स्थानीयलाई थप सास्ती
मण्डीबजारसमेत रहेको सो ठाउँमा बग्ने खोलामा कल्भर्ट आवश्यक थियो । तर पुल बन्यो, त्यो भने आवश्यक भन्दा धेरै अग्लो । राजमार्ग आसपासका घर भन्दा पनि माथि पुल बनेपछि चिन्तित बनेका स्थानीय थप चिन्तामा परेका छन् ।
पुल प्रयोगमा ल्याउन पुलको दुबैतिर दुई सय देखि तीन सय मिटर दुरीसम्म सडकको सतह माथि उठाइने भएपछि स्थानीय थप चिन्तामा परेका हुन् । सडकको सतह उठाएर पुल प्रयोगमा आएपछि त्यहाँको सबै बस्ती सडक भन्दा मूनि पर्ने भएको छ । सडकको दुईतिर बस्ती छ । एकतिर सानो बजार छ । पुल प्रयोगमा आएपनि स्थानीयलाई खुशी हुनुपर्ने ठाउँ नरहेको स्थानीय रामसोर कठरियाले दुखेसो पोखे ।
अग्लो पुल बनाउँदा सडकमा थप लागत बढ्नुका साथै मानव बस्तीलाई पनि समस्या निम्तिएको उनले बताए । सडक÷पुल छेउका घरहरुभन्दा माथि सडक हुने भएपछि बाटो पनि अवरुद्ध हुने भएपछि स्थानीय चिन्तित बनेका छन् ।
७ साउन २०७८, बिहीवार १९:४० बजे प्रकाशित













