देउवालाई विश्वासको मत दिने माओवादी केन्द्रको निर्णय

नेकपा (माओवादी केन्द्र) ले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको छ । आइतबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले विश्वासको मत दिने निर्णय गरेको सांसद मातृका यादवले जानकारी दिए ।

देउवाले आइतबार संसद्को दोस्रो बैठकमा विश्वासको मत लिँदै छन् । देउवा नेतृत्वको सरकारमा माओवादीबाट दुई जना मन्त्री छन् । प्रतिनिधिसभामा तत्काल कायम रहेका २ सय ७१ सांसदमध्ये १ सय ३६ जनाको समर्थन देउवालाई चाहिन्छ ।

जसअनुसार कांग्रेस ६१, माओवादी केन्द्रका ४८, जसपाको उपेन्द्र यादव पक्षका १९, जनमोर्चाका १ सांसदको मत देउवालाई जाने सम्भावना छ । यसअघि अदालतमा रिट दायर गर्दा देउवाका पक्षमा हस्ताक्षर गरेका एमालेका माधव कुमार नेपालपक्षका २३ सांसद सबैले उनलाई मत दिने÷नदिने यकिन भइसकेको छैन ।

कांग्रेस, माओवादी केन्द्र र जसपाका १९ सांसदले साथ दिँदा पनि देउवालाई सात मत अपुग हुन्छ । देउवालाई विश्वासको मत दिने÷नदिनेबारे निर्णय लिन एमालेको नेपालपक्षका सांसदहरू छलफलमा जुटेका छन् ।


३ साउन २०७८, आइतवार १४:०५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु