टीकापुरमा तीन दिनदेखि बेपत्ता बालक मृत फेला
कैलालीको टीकापुरमा तीन दिनदेखि बेपत्ता भएका बालक बुधबार मृत फेला परेका छन् । सोमबार बिहानदेखि हराएका टीकापुर नगरपालिका वडा नम्बर १ का दिलीप बिष्टका पाँच वर्षीय छोरा विवेक विष्ट मृत फेला परेका हुन् ।
बालकको शव टीकापुर नगरपालिका वडा नम्बर ४ बागमारास्थित जमरा कुलोको किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकेन्द्रसिंह गुरुले जानकारी दिए । कुलो किनारमा मृत फेला परेका बालक आफ्नै छोरा भएका बालकका बुवाले पुष्टि गरेको उनले बताए ।
प्रहरीले घटनास्थलमा मुचुल्का उठाउनेलगायतको प्रारम्भिक कार्य सुरु गरेको प्रहरी उपरीक्षक गुरुले बताए । प्रहरीले घटनाबारे थप अनुसन्धान अगाडि बढाउने उनले बताए ।
सोमबार विहान दिदीसंगै (जेठो बुवाको छोरी) जामुन खान भनेर गएका बालक केही छिनपछि बेपत्ता भएका थिए । उनको खोजीका लागि कैलाली प्रहरीले कुकुर परिचाल गर्नुका साथै केही व्यक्तिलाई नियन्त्रणमा लिएर ‘पोलिग्राफ’ अनुसन्धान अगाडि बढाएको थियो ।
२३ असार २०७८, बुधवार १९:२२ बजे प्रकाशित













