नालामा झाडीमा अड्किएको अवस्थामा फेला पर्यो बालकको शव
कैलालीको टीकापुरमा तीन दिनदेखि बेपत्ता भएका बालक बुधबार मृत फेला परेका छन् । सोमबार बिहानदेखि हराएका टीकापुर नगरपालिका वडा नम्बर १ का दिलीप बिष्टका पाँच वर्षीय छोरा विवेक विष्ट पाँच किलोमिटर टाढा नालामा बाँसको झाडीमा अड्किएको अवस्थामा फेला परेका हुन् ।
टीकापुर नगरपालिका वडा नम्बर ४ बागमारास्थित जमरा नालामा बाँसको झाडीमा अड्एिको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकेन्द्रसिंह गुरुले जानकारी दिए । मृत फेला परेका बालक आफ्नै छोरा भएका बालकका बुवाले पुष्टि गरेका हुन् ।
बालक सोमबार बिहान ११ बजे घर नजिकैबाट बेपत्ता भएका थिए । उनी दिदी (ठूलो बुवाको छोरी)१५ वर्षीया पुनम बिष्टसँगै घर नजिकै जामुन खान गएका थिए । पुनमले प्रहरीसँगको बयानमा आफू विवेकलाई सडकमै छोडेर साथीको घरमा गएको र विवेक समेत उनका साथीको घरमा खेल्न गएको बताएकी थिइन् ।
प्रहरीले घटनाका बारेमा विस्तृत रुपमा अनुसन्धान भैरहेको जनाएको छ । प्रहरीले बालकको खोजीका लागि कुकुर परिचाल गर्नुका साथै केही व्यक्तिलाई नियन्त्रणमा लिएर ‘पोलिग्राफ’ अनुसन्धान गरेको थियो ।
२३ असार २०७८, बुधवार १९:४६ बजे प्रकाशित













