काँग्रेस अधिवेशन : सुदूरपश्चिमका कुन जिल्लामा को–को छन् सभापतिका दाबेदार ?

नेपाली काँग्रेसमा १४ औं महाधिवेशनको रौनक बढेको छ । केन्द्रमा सभापतिका आकांक्षीले दाबी प्रस्तुत गरिरहँदा जिल्लामा पनि जिल्ला सभापतिका दाबेदारको पनि दौडधुप सुरु भएको छ ।

यसका लागि स्थानीय कार्यकर्ता सँगसँगै केन्द्रमा पनि नेतृत्वसँगको लबिङलाई जिल्ला नेताहरुले तीव्र बनाउन थालेका छन् । काँग्रेसमा अब वडा तहका अधिवेशनहरु सुरु हुन २० दिन मात्र बाँकी छ । १२ साउनदेखि वडा तहको अधिवेशन सुरु हुनेछ ।

त्यसपछि १६ साउनमा पालिका, २० साउनमा प्रदेश सभा, क्षेत्र र २३ साउनमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र एवं जिल्लाको अधिवेशन हुनेछ । त्यस्तै, एकभन्दा बढी निर्वाचन क्षेत्रहरु भएका जिल्लाको अधिवेशन २६ साउनमा हुनेछ भने भदौ १ र २ गते सातै प्रदेशको अधिवेशन हुनेछ । त्यसपछि भदौ १६–१९ गते काठमाडौंमा १४ औं महाधिवेशन हुने काँग्रेसको कार्यतालिका छ । यससँगै, काँग्रेसमा केन्द्र र जिल्ला अधिवेशनको चर्चा र चासो बढेको छ ।

कुन जिल्लामा को–को दाबेदार ?

कैलाली
सुदूरपश्चिम प्रदेशको राजधानीसमेत रहेको कैलालीमा आगामी अधिवेशनबाट को व्यक्ति सभापति हुन्छ भनेर चासोका साथ हेरिएको छ । जनसंख्याका दृष्टिले सुदूरपश्चिम प्रदेशमा सबैभन्दा ठूलो र प्रतिनिधि सभाका पाँच निर्वाचन क्षेत्र भएको कैलालीमा जिल्ला सभापतिका आकांक्षीको सूची लामो छ ।

जिल्लामा सभापतिका लागि देउवा टीमबाट प्रकाश बम, नारायणदत्त भट्ट, भीम बडुवाल, खेमराज चौधरी, कमल शाह, डा।रणबहादुर रावल, दिनेशराज जोशी, गणेश देउवा लगायतको नाम चर्चामा छ ।
रामचन्द्र पौडेल प्यानलबाट जोशी र देउवाको दाबी बलियो छ । सभापति पदका आकांक्षी धेरै देखिए पनि देउवा टीममा बडुवाल र रावललाई प्रबल दाबेदारका रुपमा देखिएको छ । कैलालीमा देउवा टीममा अन्तरविरोध देखिएकाले पौडेल पक्षको साथ लिएर ‘देउवा भर्सेस देउवा’ हुने अनुमान पनि गरिएको छ ।

कञ्चनपुर
सुदूरपश्चिम प्रदेशको दोस्रो धेरै जनसंख्या र निर्वाचन क्षेत्र भएको कञ्चनपुरमा पनि जिल्ला सभापतिको रस्साकस्सी शुरु भइसकेको छ । वर्तमान सभापति हरि बोहोराले दोस्रो कार्यकाल जिल्ला सभापति हुने आकांक्षा राखेका छन् । गत अधिवेशनमा बोहरासँग पराजित पदम बोगटी, बहादुरसिंह थापा, गत अधिवेशनमा पराजित बनेका गोपाल गुरुङको नाम चर्चामा छ । गुरुङ पौडेल पक्षधर हुन् ।

डडेल्धुरा
पार्टी सभापति देउवाको गृहजिल्लामा देउवा निकट पर्शुराम नगरपालिका मेयर भीमबहादुर साउदलाई अगाडि सारिएको छ । उनलाई देउवा आफैले अघि सारेका हुन् । तर देउवा टिमकै नवलबहादुर मल्लले पनि दाबी गरेका छन् । देउवा टीमबाट सभापतिका आकांक्षी रघुवर भट्ट र गोविन्द बोहरा पनि आकांक्षी थिए । तर, देउवाले साउदलाई अघि सारेपछि भट्ट र बोहरा पछि हटेका छन् ।

डोटी
डोटीमा वर्तमान सभापति प्रदीप देउवा आफैं दोहोरिने योजनामा छन् । यस्तै नेताहरु सीताराम जोशी, रामप्रसाद उपाध्यक्ष, दीपक विष्ट र भूमिराज बडू पनि सभापतिको लाइनमा छन् । उनीहरु सबै सभापति देउवा टीमका सभापतिका आकांक्षी हुन् । डोटीमा पौडेल पक्षको उपस्थिति नगन्य छ । १३ औं महाधिवेशनमा डोटीबाट पौडेल पक्षका एकजना मात्रै प्रतिनिधि आएका थिए ।

अछाम
सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामध्ये दुईवटा निर्वाचन क्षेत्र भएको अछाममा पनि सभापतिका लागि धेरै आकांक्षी देखिएका छन् । देउवा टीमबाट वर्तमान सभापति भरतकुमार स्वारले दोहोरिन खोजेका छन् । यस्तै, पूर्वसभापतिद्वय पुष्पबहादुर शाह र मेघराज खड्का र नेता गणेशबहादुर विष्ट पनि आकांक्षी देखिएका छन् । पौडेल पक्षबाट कसैलाई पनि उम्मेदवारका रुपमा अगाडि सारिउको छैन । यद्यपि बलबहादुर कुँवर, ध्वजबहादुर कुँवर र टीकाराम खनाललाई जिल्ला सभापतिको उम्मेदवारका रुपमा हेरिएको छ ।

बाजुरा
बाजुरामा सभापतिका लागि पूर्वसभापति मनबहादुर रावल र वर्तमान सभापति कविराज पण्डित दोस्रोपटक जिल्ला सभापतिमा भिड्ने तयारीमा देखिन्छन् । अघिल्लो जिल्ला अधिवेशनमा जिल्ला सभापतिमा पराजित रामसिंह रावल र महासमिति सदस्य प्रेमबहादुर शाहीले पनि सभापतिका लागि कार्यकर्तासँगको सम्पर्क र केन्द्रीय नेतृत्वसँगको लबिङ तीव्र पारेका छन् । देउवा टिमबाट पण्डित र शाही तथा पौडेल टिमबाट मनबहादुर र रामसिंहबीच जिल्ला सभापतिको उम्मेदवार बन्ने प्रतिस्पर्धा चलेको छ ।

बैतडी
बैतडीमा वर्तमान सभापति नरेन्द्रसिंह थापा दोहोरिने योजनामा छन् भने उपसभापति चतुरबहादुर चन्द र सचिव वीरबहादुर विष्ट पनि सभापति बन्ने लविङमा छन् । यस्तै, पूर्वसभापति शिवराज भट्ट पनि पुनः सभापति भन्ने दौडमा छन् । वर्तमान सभापति थापा र उपसभापति चन्द्र पौडेल टिमबाट चुनावी मैदानमा उत्रिन खोजिरहेको अवस्था छ भने देउवा टिमबाट भट्ट र विष्टले सभापतिको लबिङ गरिरहेका छन् ।

दार्चुला
सुदूरपश्चिमा पौडेल पक्षको सबैभन्दा बलियो उपस्थिति दार्चुलामा छ । यहाँ आधा दर्जन नेताहरु सभापतिका आकांक्षी देखिएका छन् । पौडेल पक्षीय केन्द्रीय सदस्य दिलेन्द्र बडूको गृहजिल्ला दार्चुलामा देउवा पक्ष कमजोर छ । वर्तमान सभापति ललितसिंह बोहोरा, १३ औं जिल्ला अधिवेशनमा पराजित विक्रम धामी, पूर्वसभापति जगदीश पाल, उपभापति अमर धामी, सचिव हर्क बिष्टलगायतका नेताहरुलाई जिल्ला सभापतिका दाबेदारका रुपमा हेरिएको छ । यस्तै, देउवा टीमबाट विक्रम धामी र पाललगायतलाई सभापतिको उम्मेद्वारका रुपमा हेरिएको छ ।

बझाङ
बझाङमा सभापतिको उम्मेदवारका लागि वर्तमान सभापति हर्कजंग बहादुर सिंह, पूर्वसभापति पृथ्वीबहादुर सिंह, पूर्वसभापति (काँग्रेस प्रजातान्त्रिक) चेतराज बजाल, पूर्वउसभापति देवराज शर्मा र नेता जगत जोशीको नाम चर्चामा छ । यस्तै गत जिल्ला अधिवेशनमा सभापतिका प्रत्यासी खडगबहादुर बोहरा र रमेश भण्डारी पनि सभापतिका बलिया दाबेदार हुन् । पौडेल पक्षबाट पूर्वसभापति सत्यराज भण्डारी र पूर्वसांसद चन्दा जोशीको नाम चर्चामा छ ।


२२ असार २०७८, मंगलवार १५:१९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु