देशभर थप १९६ जना संक्रमितको मृत्यु, ८,२०३ संक्रमित थपिए
कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर थप १९६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ हजार ४११ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा देशभर ८ हजार २०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २० हजार २८६ नमुनाको पीसीआर परीक्षण गर्दा ८ हजार १३६ जना र ६९३ नमुनाको एन्टिजेन परीक्षण गर्दा ६७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।
यससंगै नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ७२ हजार ३५४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ६ हजार ८९१ जना संक्रमणमुक्त भएर घर फर्किएका छन् । यसैगरी निको हुनेको संख्या हालसम्म ३ लाख ५२ हजार ४१४ पुगेको छ।
हाल देशभर सक्रिय संक्रमितको संख्या १ लाख १४ हजार ५२९ रहेको छ । उनीहरुमध्ये १ लाख ७ हजार ८२ जना होम आइसोलेसनमा रहेका छन् भने ७ हजार ४४७ जना संस्थागत आइसोलेसनमा छन् । यस्तै १ हजार ५९० जनाको आईसीयू र ३९० जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
४ जेठ २०७८, मंगलवार १८:२४ बजे प्रकाशित






























