कांग्रेसले बुझायो प्रधानमन्त्रीलाई १५ बुँदे ज्ञापनपत्र, गम्भीर बन्न आग्रह

नेपाली कांग्रेसले कोरोना महामारी नियन्त्रण र संक्रमितको उपचारमा जिम्मेवार बन्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।

१५ बुँदे ज्ञापनपत्र बुझाउँदै कांग्रेसले अक्सिजन लगाएतका अत्यावश्यक  बस्तुमा समेत कालोबजारी गरेको आरोप लगाएको छ ।

ज्ञापनपत्रमा भनिएको छ,‘हालको संक्रमण र भविष्यमा नयाँ भेरियन्टबाट हुनसक्ने तेस्रो चरणको संक्रमणबाट नेपाली जनतालाई सुरक्षित राख्न खोपको सुनिश्चितता गरियोस् ।’

खोप ल्याउनका लागि कुटनीतिक पहल गर्न माग गर्दै सभापति देउवाले प्रधानमन्त्रीलाई बुझाएको ज्ञापनपत्रमा भनेका छन् ,‘खोपको सुनिश्चितताका लागि कुटनीतिक पहल गरियोस । खोप आपूर्ति गर्ने व्यवस्था बिचौलियारहित र पारदर्शी ढंगले गरियोस ।’

आवश्यकताअनुसार तत्काल आइसीयु र भेन्टीलेटरको तत्काल व्यवस्था गर्न समेत कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ । नयाँ भेरियन्टले बालबालिका समेत प्रभावित हुनसक्ने विज्ञहरुले जानकारी गराइसकेको अबस्थामा सरकारले तत्काल संक्रमण कम गर्न पहल गर्नुपर्ने कांग्रेसको माग छ । कांग्रेसले कोरोना महामारी नियन्त्रण र संक्रमितको उपचारमा सरकारलाई  गम्भिर बन्न आग्रह गरेको छ ।

नीजि अस्पतालले कोरोना संक्रमितसँग चर्को शुल्क असुलेको गुनासो आएको भन्दै कांग्रेसले निम्न आय भएकाहरुलाई निःशुल्क उपचारको व्यवस्था गर्नसमेत सरकारसँग माग गरेको छ । गत आर्थिक वर्षमा स्वास्थ्य क्षेत्रमा धेरै बजेट विनियोजन गरिएको भनिएपनि त्यसको काम नगन्य रुपमा भएको भन्दै तत्काल सबै प्रदेशमा सुविधासम्पन्न अस्पताल निर्माण गर्न समेत कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ ।

ज्ञापनपत्र बुझाउन सभापति देउवासँगै महामन्त्रीहरु पुर्णबहादुर खड्का, डाक्टर शशांक कोइराला, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, प्रमुख सचेतक बालकुष्ण खाँण र सहमहामन्त्री डाक्टर प्रकाशशरण महत प्रधानमन्त्री कार्यालय सिंहदरबार पुगेका हुन्  ।
सरकारका तर्फबाट प्रधानमन्त्री, उपप्रधानमन्त्री, स्वास्थ्यमन्त्रीसहित एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ लगाएतको उपस्थिति रहेको थियो ।  


६ जेठ २०७८, बिहीवार १२:२० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु