भारतमा ज्यान गुमाउनेको नयाँ रेकर्ड, एकैदिन हालसम्मकै धेरैको मृत्यु
भारतमा एकै दिन अहिलेसम्मकै धेरै कोरोना भाइरस सङ्क्रमितको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा ४ हजार तीन सय ४० जना सङ्क्रमितको मृत्यु भएको हो । भारतमा एकै दिन यति धेरै सङ्क्रमितको मृत्यु भएको थिएन ।
यसअघि दैनिक चार हजार हाराहारीमै सङ्क्रमितको मृत्यु भइरहेको थियो । भारतमा कोरोना नियन्त्रणमा केही हदसम्म सफलता प्राप्त भइरहे पनि दैनिक मृत्यु हुने सङ्क्रमितको सङ्ख्या भने बढ्दो क्रममा रहेको हो ।
भारतमा दैनिक पुष्टि हुने सङ्क्रमितको सङ्ख्या भने कम हुँदै गइरहेको छ ।
पछिल्लो २४ घण्टामा दुई लाख ६३ हजार ४५ जना नयाँ बिरामी थपिए । यो सङ्ख्या विश्वका अन्य मुलुकमा एकै दिन थपिएका सङ्क्रमितको भन्दा अत्याधिक धेरै हो ।
तर यसअघि दैनिक चार लाख हाराहारीमा नयाँ सङ्क्रमित थपिने गरेको भारतमा केही दिनदेखि सङ्क्रमण घट्दो क्रममा रहेको हो ।
भारतमा सङ्क्रमित सङ्ख्या दुई करोड ५२ लाख २७ हजार नौ सय ७० पुगेको छ । दुई करोड १५ लाख ९० हजार तीन जना उपचारपछि निको भएका छन् ।
३३ लाख ५९ हजार दुई सय १६ जनाको उपचार भइरहेको छ । उपचाररत सङ्क्रमितमध्ये आठ हजार नौ सय ४४ जनाको अवस्था चिन्ताजनक छ ।
४ जेठ २०७८, मंगलवार ०८:२६ बजे प्रकाशित






























