कोरोना संक्रमितले भरियो डडेल्धुरा अस्पताल
कोरोना संक्रमित डडेल्धुरा अस्पताल भरिएको छ । सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लाको उपचारको केन्द्र डडेल्धुरा अस्पतालमा स्थापना गरिएको १६ शैयाको वार्ड संक्रमितले भरिएको हो ।
शनिबारसम्म कोभिड वार्डका सबै शैया भरिएपछि थप संक्रमित आएमा उपचारमा समस्या सिर्जना हुने सिनियर अहेब तथा सूचना अधिकारी टंकप्रसाद पन्तले बताए । कोभिड वार्डमा भर्ना भएकामध्ये तीन जना आईसीयू र १३ जनालाई एचडीयू युनिटमा राखेर उपचार भइरहेको छ ।
उनीहरु सबैलाई अक्सिजन दिइरहेको र संक्रमितको संख्या वृद्धि भएमा अस्पतालमा अक्सिजनको समेत अभाव हुने पन्तले बताए ।
शुक्रबारदेखि आकस्मिक बाहेकका सबै सेवा बन्द गरेको अस्पतालले थप संक्रमितको कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा सम्बद्ध निकायसँग छलफल गर्ने काम भइरहेको जनाएको छ ।
१८ वैशाख २०७८, शनिवार १९:१६ बजे प्रकाशित































