कञ्चनपुरकी १४ वर्षीया बालिकामाथि सामूहिक बलात्कार
कञ्चनपुरको पुनर्वास नगरपालिकामा १४ वर्षीया बालिका सामूहिक बलात्कारको सिकार भएकी छन् ।
शुक्रबार साँझ तिर जिल्लाको पुनर्वास नगरपालिका– २ मोतिबस्तीमा बालिकामाथि पहिचान नखुलेका ३ जना युवकको समुहले सामुहिक बलात्कार गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक थापाका अनुसार बालिका कलम किन्न घरबाट करिब ४ सय मिटरको दूरीमा रहेको पसलमा गइरहेका बेला उनीमाथि बलात्कार भएको
हो ।
बलात्कार गरेको आरोप लागेका ३ जना युवाहरुको पहिचान खुल्न नसकेको उनले बताए । उनीहरु घटना लगत्तै फरार भएको प्रहरी नायब उपरीक्षक थापाले जानकारी गराए ।
धनगढीमा स्वास्थ्य परीक्षणपछि बालिकालाई आफन्तको जिम्मा लगाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको कंचनपुर प्रहरीले जानकारी दिएको छ ।
२९ फागुन २०७७, शनिवार १४:२७ बजे प्रकाशित






























