तिङ्कर सडक खण्डमा दुई वर्षमा बन्ने दुई पुल पाँच वर्षसम्म पनि बनेन्
महाकाली करिडोर अन्तर्गत पर्ने दार्चुला तिङ्कर सडक खण्डको लास्कु र नजाङगाड खोलामा मोटरबेल पुल निर्माण सुरु भएको पाँच वर्ष भएपनि अझै काम सम्पन्न हुन सकेको छैन ।
सो सडक खण्डको मुख्य क्षेत्रमा पर्ने यी दुई पुल निर्माण समयमै नहुँदा सडक खण्ड वर्षातमा सडक अवरुद्ध हुँदै आएको छ । झण्डै दुई वर्षभित्रै निर्माण सक्नुपर्ने पूल निर्माण पाँच वर्षपछि मात्रै अन्तीम चरणमा पुगेको छ । पुल निर्माणमा भएको ढिलाईले सर्वसाधारणले समेत सास्ती भोग्नुपरेको छ ।
पुल निर्माण नहुने तर पटकपटक म्याद थपेको थप्यै गर्दा स्थानीयवासीले आवतजावतमै समस्या भोग्नुपरेको बताएका छन् । निजाङगाड खोला पुलमा राजेन्द्र मालिकार्जुन जेभीसँग २०७२ फागुन ५ गते निर्माण सम्झौता गरी २०७४ जेठ ४ गते सक्ने लक्ष्य थियो ।
सो पुल कूल दुई करोड ४६ लाखको लागतमा निर्माण गर्ने सम्झौता भएको हो । लास्कु खोला पुलमा राजेन्द्र देवसिंह मालिकार्जुन जेभीसँग २०७२ चैत १५ गते सम्झौता गरी २०७४ असार १४ गते निर्माण सम्पन्न हुनुपर्ने थियो । सो पुल कूल तीन करोड ५८ लाखको लागतमा निर्माण गर्नुपर्ने हो ।
एक दशक अघिबाट निर्माण सुरु भएको दार्चुला तिङ्कर सडक खण्डमा हालसम्म झण्डै ४३ किलोमिटर सडकको ट्र्याक खुलेको छ ।
अहिले सो सडक खण्ड ब्यास गाउँपालिकाको केन्द्र सुनसेराभन्दा तीन किलोमिटर अघिसम्म मात्रै पुगेको छ । सडक निर्माणसँगै पुल निर्माणमा सरकारी पक्ष र निर्माण व्यवसायीकै लापरवाहीका कारण समयमै निर्माण नसकिएको व्यवसायी चक्रबहादुर बम बताउँछन् ।
दुबै ठाउँमा पुल निर्माण नहुँदा स्थानीयवासीलाई आवतजावतमा निकै समस्या हुँदै आएको छ । हिउँदको चिसो महिनामा नदी भएर वारपार गर्न साह्रै अप्ठ्यारो हुन्छ । अहिले दुवै पुलको निर्माण कार्यले केही गति लिएको छ ।
निर्माण सामग्री समयमै आपूर्ति नहुनु तथा पुल निर्माणको लागि जिम्मेवारी दिएको व्यक्तिले समयमै काम गर्न नसक्नु पुल निर्माणको ढिलाइ भएको बताइएको छ ।
राजेन्द्र निर्माण सेवाका प्रतिनिधि अर्जुन गुर्दामी यसै आर्थिक वर्षको असारभित्र दुबै पुलमा गाडी गुड्ने गरी काम भइरहेको जानकारी दिए । उनले अहिले पुलको काम सन्तोषजनक रुपमा भइरहेको बताए ।
२७ फागुन २०७७, बिहीवार १७:१४ बजे प्रकाशित































