कोरोनाविरुद्धको खोपमा रुसको ‘स्पुतनिक–५’ सबैभन्दा अगाडि, बन्यो ठूलो हतियार
कोरोनाको खोपमा सबैभन्दा अगाडि रुसको ‘स्पुतनिक–५’ देखिएको छ । तेस्रो चरणको परीक्षणमा नतिजा उत्कृष्ट देखिएसंगै स्पुतनिक–५ कोरोनाविरुद्धको ठूलो हतियार बनेको छ ।
दि ल्यान्सेटमा मंगलबार प्रकाशित रिपोर्टका अनुसार कोभिड–१९ विरुद्ध यो खोप करीव ९२ प्रतिशतसम्म प्रभावकारी छ । यसलाई एउटा सुरक्षित खोप पनि भनिएको छ, जसले हस्पिटलाइजेशन र मृत्युको जोखिम पनि कम गर्न सक्छ ।
उक्त खोप रोलआउट भएदेखि अन्तिम परिक्षणको तथ्यांक आउनेसम्म विवादमा परेको थियो । यद्यपि, यो खोप फाइजर,अक्सफोर्ड, मोडर्ना र ज्यानसन जस्तो अग्रपंक्तिमा रहेका खोपको सूचीमा समावेश भएको वैज्ञानिकहरुको दावी रहेको छ ।
यसको भव्य प्रदर्शन देखेर वैज्ञानिकहरुले यस प्रकारको दावी गरेका हुन् । स्पुतनिक–५ ले बेलायतमा विकसित भएको अक्सफोर्ड एस्ट्राजेनेकाको खोप र बेल्जियममा बनेको ज्यानसेन खोप जस्तै काम गर्छ ।
यसले रोगको जोखिम नबढाइकन शरीरलाई भाइरसको जेनेटिक कोडको खतराको पहिचान गर्छ र त्यसलाई लड्न सिकाउँछ । खोप लगाएपछि शरीरले विशेष रुपले कोरोना भाइरस विरुद्ध एन्टीबडी उत्पादन गर्न शुरु गर्छ । जब कोरोना भाइरसले शरीरमा हमला गर्छ, इम्यून सिस्टम त्यो भाइरससंग लड्नका लागि तयार हुन्छ ।
यसबाट शरीरले भाइरसबाट लामो समयसम्म सुरक्षा पाउने छ । ट्रायलको क्रममा यसमा कुनै पनि प्रकारको साइड इफेक्ट पनि देखिएको छैन । जस्तो हातको दुखाइ, थकावट तथा शरीरको तापक्रम कम हुनु आदि ।
रुसको यो खोप अर्जेन्टिना, प्यालेस्टाइन, भेनेजुएला, हंगेरी, यूएई तथा ईरानमा पनि प्रयोग भैरहेको छ । यो खोपको ट्रायलको तेस्रो चरणमा करीव २० हजार मानिसहरुलाई सहभागि गराइएको थियो । तीमध्ये खोप लिनेहरुको समूहमा १४ हजार ९ सय ६४ जना स्वयंसेवकहरुलाई राखिएको थियो ।
२१ माघ २०७७, बुधवार १५:५६ बजे प्रकाशित































