सगरमाथाको उचाई बढ्यो, नयाँ उचाइ ८८४८. ८६ मिटर

विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाई बढेको छ । नेपाल र चीनले आज संयुक्त रुपमा विश्‍वको सर्वोच्च शीखर सगरमाथाको उचाई सार्वजनिक गरेका हुन् ।

यसअघि सगरमाथाको उचाई ८ हजार ८४८ मिटर रहेको थियो । अहिले सार्वजनिक तथयांक अनुसार सगरमाथाको नयाँ उचाइ ८ हजार ८४८ दशमलव ८६ मिटर कायम भएको छ । पछिल्लो मापन अनुसार सगरमाथाको उचाइ ८६ सेन्टिमिटर बढेको हो ।

गत वर्ष चिनियाँ राष्ट्रपति सी जीनपिङको नेपाल भ्रमणका क्रममा नेपाल र चीनले सगरमाथालाई मित्रताको प्रतीक मान्दै संयुक्त रूपमा त्यसको उचाई घोषणा गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । सोही प्रतिबद्धता अनुसार परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली र चिनियाँ समकक्षी वाङ यीले मंगलबार सगरमाथाको उचाई संयुक्तरुपमा सार्वजनिक गरेका हुन् ।

यसअघि सगरमाथाको उचाइ विभिन्‍न समयमा विवादित बनेको थियो । २५ अप्रिल, २०१५ मा गएको ७ दशमल ८ म्याग्‍निच्युडको भूकम्पपछि यसको उचाइको विषय थप विवादित बनेको थियो ।

सन् २०१५ को महाभूकम्पपछि सगरमाथाको उचाइ नाप्‍न भारतले विशेष चासो देखाएको थियो । तर, भारतलाई सगरमाथाको उचाइ मापन गर्न दिनु हुँदैन भनेर व्यापक विरोध भएपछि नेपाली टोली आफैं तयार भएरर नेपाली नापी विभागको प्राविधिक टोली २३ मे, २०१९ मा सगरमाथाको चुचुरोमा पुगेको थियो ।

नापी विभागका सर्भेयर प्रमुख खिमलाल गौतम र सर्भेयर रविन कार्कीको टोली २३ मे बिहान ३ः१५ बजे सगरमाथाको चुचुरोमा पुगेको थियो । करिब आधा घण्टा चुचुरोमा रोकिएको टोलीले ग्लोबल नेभिगेसन स्याटेलाइट सिस्टम (जीएनएसएस) मार्फत उचाइ मापन गरेको थियो ।

कोरोना भाइरसका कारण सगरमाथाको ‘कमर्सियल आरोहण’ मा रोक लगाएको बेला चिनियाँ टोली १६ मेमा चीनतर्फको चोमोलोङ्मा बेस क्याम्पबाट शिखरतर्फ उक्लिएको थियो । चीनले अहिलेसम्मकै विस्तृत र वैज्ञानिक सर्वेक्षण गर्ने चाइना डेलीमा दाबी गरिएको थियो । चीनले बेइडुमार्फत स्याटेलाइट सिस्टम, (जसलाई अमेरिकी ग्लोबल पोजिसनिङ सिस्टमको ‘राइभल’ भनिन्छ) मार्फत सगरमाथाको उचाइ मापन गरेको थियो ।


२३ मंसिर २०७७, मंगलवार १५:२३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु