कोरोना संक्रमणबाट हुने मृत्युमा नयाँ ‘रेकर्ड’, २४ घण्टामा अहिलेसम्मकै धेरैको मृत्यु
विश्वमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्यामा नयाँ रेकर्ड कायम भएको छ ।
पछिल्लो २४ घण्टामा १० हजार ५०२ जनाको मृत्यु भएको छ। एकैदिन कोरोनाबाट मृत्यु भएका संक्रमितको यो संख्या अहिलेसम्मकै धेरै हो ।
यसअघि कात्तिक २७ मा १० हजार ७ जनाको मृत्यु भएको थियो । एकैदिन मृतकको संख्यामा सर्वाधिक वृद्धि भएसँगै विश्वभर कोरोनाले ज्यान गुमाउनेको संख्या १३ लाख ४२ हजार ९४२ पुगेको छ ।
दोस्रो लहरको संक्रमण उच्च भएको युरोपमा मात्रै पछिल्लो २४ घण्टामा ५ हजार २०० जनाको मृत्यु भएको छ । युरोपेली मुलुकमा कोरोनाले सबैभन्दा धेरै बेलायतमा ५२ हजारभन्दा बढीको मृत्यु भएको छ ।
बेलायतमा पछिल्लो २४ घण्टामा ५९८ संक्रमितको मृत्यु भएको छ । योसँगै त्यहाँ मृतकको कुल संख्या ५२ हजार ७४५ पुगेको छ । जाडो मौसमसँग संक्रमितको संख्या बढ्दै जाँदा बेलायतलगायत युरोपभरि नै मृतकको संख्या बढ्दै गएको छ ।
युरोपमा भने बेलायतपछि फ्रान्समा सबैभन्दा बढीको मृत्यु भएको छ। फ्रान्समा अहिलेसम्म ४६ हजार २७३ जनाको मृत्यु भएको छ ।
संक्रमण बढेपछि युरोपेली मुलुकहरूमा फेरि प्रतिबन्ध कायम भएका छन् । बेलायत, इटाली, फ्रान्स लगायतका मुलुकले कतै लकडाउन, कतै निषेधाज्ञा त कतै कर्फ्यू नै जारी गरेका छन् । तर पनि संक्रमण घटेको छैन ।
यस्तै पछिल्लो २४ घण्टामा विश्वभर ५ लाख ४६ हजार ६६२ संक्रमित थपिएका छन् । योसँगै विश्वभर संक्रमितको संख्या ५ करोड ५९ लाख ३६ हजार ९०१ पुगेको छ । यसमध्ये ३ करोड ८९ लाख ५८ हजार ८०२ जना संक्रमण मुक्त भएका छन् ।
विश्वभर यो समाचार तयार पार्दासम्म सक्रिय संक्रमितको संख्या १ करोड ५६ लाख ३४ हजार ९८३ पुगेको छ ।
३ मंसिर २०७७, बुधवार ०९:०६ बजे प्रकाशित































