बागलुङमा एक साताका लागि लकडाउन
कोरोना संक्रमित बढेपछि जिल्ला संकट व्यवस्थापन समितिले बागलुङ नगरपालिकाको वडा नम्बर १ देखि ४ सम्मका मुख्य बजारमा एक साताका लागि लकडाउन गरेको छ ।
सोमबार बसेको सर्वपक्षिय र जिल्ला संकट व्यवस्थापन समितिले सुरक्षा समितिलाई निषेधाज्ञा लगाउन पनि सिफारिस गरेको छ ।
सदरमुकाम आसपासका सबै आइसोलेसन भरिएर होम आइसोलेसनमा समेत संक्रमित राख्नु परेपछि बागलुङ नगरपालिकाले पनि निषेधाज्ञा जारी गरिदिन प्रशासनलाई सिफारिस गरेको थियो ।
बागलुङ उद्योग वाणिज्य संघले निवेदन लेखेर प्रशासन र नगरपालिकालाई लकडाउन गराउन आग्रह गरेका थिए ।
समितिको तथ्यांक अनुसार जिल्लामा १ सय ७० सक्रिय संक्रमित छन् । तीमध्ये सबैभन्दा बढी बागलुङ नगरपालिकामा मात्रै १ सय २१ सक्रिय संक्रमित छन् ।
जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांक अनुसार अहिले सम्म ९ हजार ७ सय ४३ जनाको पीसीआर गरिएको छ । तीमध्ये अझै ३ सय ९४ जनाको रिपोर्ट आउन बाँकी छ । संक्रमित मध्ये ४८ जना होम आइसोलसनमा छन् ।
१७ कात्तिक २०७७, सोमवार १५:२९ बजे प्रकाशित































