मापदण्डविपरित पानी उद्योगः सात उद्योगको उत्पादन रोक्का, दुई सिलबन्दी
कैलाली र कञ्चनपुरका केही पानी उद्योग स्वच्छता मापदण्ड नपनाइएको पाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीले गरेको अनुगमनका क्रममा केही पानी उद्योगहरुले स्वच्छता मापदण्डविपरित पानी उत्पादन गरिरहेको पाइएको हो ।
दशैं–तिहारलाई लक्षित गर्दै गरिएको अनुगमनका क्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको टोलीले स्वच्छता विपरित उत्पादन भइरहेका कैलाली र कञ्चनपुरका नौंवटा उद्योगमध्ये दुईवटा उद्योगलाई सिलबन्दीसहित उत्पादन रोक्का गरेको छ भने सातवटाको उत्पादन रोक्का गरिएको छ ।
दुई जिल्लाका २४ वटा पानी प्रशोधन तथा हल्का पेय पदार्थ उत्पादन गर्ने उद्योगहरुमा गरिएको अनुगमनका क्रममा नौंंवटा उद्योगमा स्वच्छता मापदण्ड नअपनाइएको खाद्य प्रविधि तथा गुृण नियन्त्रण क्षेत्रीय कार्यालय धनगढीका प्रमुख बरिष्ठ खाद्य अनुसन्धान अधिकृत नवराज दाहालले जानकारी दिए । उनले ती उद्योगहरुलाई सिलबन्दी र उत्पादन रोक्का गरिएको बताए । उनले खाद्य स्वच्छता मापदण्ड नपाइएका कैलालीको एक र कञ्चनपुरको एक गरि दुइवटामा सिलबन्दी गरिएको बताए ।
अनुगमनका क्रममा कैलालीका उद्योगहरुमा धनगढी उपमहागनरपालिका वडा नम्बर ५ मा रहेको पानी प्रशोधन गर्ने कैलाली बाटर इण्डष्टिजलाई सिलबन्दीसहित उत्पादन रोक्का गरिएको छ ।
त्यस्तै, टीकापुर नगरपालिका वडा नम्बर १ मा रहको पानी प्रशोधन गर्ने न्यू एभरेष्ट अनुज उद्योग र चिसो पेय पदार्थ उत्पादन गर्ने अनुज एभरेस्ट उद्योगी, लम्कीचुहा नगरपालिका वडा नम्बर १ मा रहेको एक्वा कर्णाली अमृत एण्ड बेभरेज इष्डष्टिज र सोही नगरपालिकाको वडा नम्बर ३ मा रहेको एनकेडीजे बेभरेज एण्ड प्याकिंग उद्योगलाई उत्पादन रोक्का गरिएको छ ।
त्यसैगरि, कञ्चनपुरमा रहेका उद्योगहरुमध्ये पुनर्वास नगरपालिका वडा नम्बर ३ आइबीआरडीमा रहेको डेली डिंकिंग बाटर एण्ड मल्टी प्रोडक्सन उद्योगलाई सिलबन्दीसहित उत्पादन रोक्का गरिएको छ । शुक्लाफाटा वडा नम्बर ६ मा रहेको कौशल कञ्चन मिनरल्स, भीमदत्त नगरपालिका वडा नम्बर ४ मा रहेको ब्लु बर्ड बाटर टिटमेन्ट एण्ड सप्लायर्स र सोही नगरपालिकाको वडा नम्बर २ मा रहेको शिवशंकर बाटर एण्ड मल्टि प्रोडक्सनको उत्पादन रोक्का गरिएको गरिएको छ ।
उद्योगले अपनाउनुपर्ने स्वच्छता मापदण्ड पालना नगरेसम्मका लागि उत्पादन रोक्का राखिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण क्षेत्रीय कार्यालय धनगढीका सूचना अधिकारी उज्वल कोइरालाले बताए । उनले यदि अटेर गरी उत्पादन गरे खाद्य ऐन बमोजिम कारवाही गरिने चेतावनीसमेत दिएका छन् ।
दशैं तिहारमा बढी कारोबार हुने मिठाई पसललगायतको पनि अनुगमन गरिएको छ । कैलालीकोे धनगढी, अतरिया, सुखड, टीकापुर र चिसापानीमा रहेका खाद्य पसलहरु, मिठाइ पसलहरु तथा होटलहरुको अनुगमन गरिएको छ । अनुगमनको क्रममा धेरै पसलहरुमा म्याद गुज्रेका बेकरीजन्य, चिसो पेय पदार्थलगायतमा जफतसमेत गरिएको छ ।
कतिपय सिलबन्दी खाद्यमा लेबल नराखेको र कतिपयको लेबलमा उत्पादन मिति र उपभोग्य मिति स्पस्ट उल्लेख नगरिएकोसमेत पाइएको सूचना अधिकारी कोइरालाले जानकारी दिए । कतिपय उद्योगहरुलाई चेतावनी दिँदै मापदण्ड सुधार गर्न निर्देशन दिइएको छ ।
होटल तथा मिठाई पसलमा पनि अनुगमन
कंचनपुरमा संयुक्त अनुगमन समितिले खाद्य किराना पसलहरु, मिठाइ पसलहरु, हल्का पेय तथा अल्कोहलिक पेय पदार्थहरु, तरकारी पसलहरु, मासुपसललगायतको अनुगमन गरिएको छ । त्यसक्रममा केही म्याद गुज्रेका हल्का पेय, चिया, ढुसी परेको बदाम खुल्ला, ढुसी परेको नरिवल खुल्ला खाद्य पदार्थ जफत गरिएको छ । छ साथै व्यापारीलाई मापदण्डमा अपनाउने निर्देशन दिइएको छ । यो अवधिमा साल्टट्रडिङको नुनको पनि नमूना संकलन गरी परीक्षण गरिएको छ ।
गुण नियन्त्रण कार्यालयले दशै तिहार विदाको दिनमासमेत उपभोक्ताको उजुरी प्राप्त हुन आएमा अनुगमन टोलीले तत्काल निरीक्षण अनुगमन गर्ने र परीक्षण गरेर कारबाहीसमेत गर्ने जनाएको छ । खाद्य उत्पादनमा कुनै कैफियत देखिएमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको फोन नम्बर ९८५८४८८९७२ वा ९८५८४२२९७२ मा उजुरी गर्नुसमेत उपभोक्तासंग अपिल गरिएको छ ।
७ कात्तिक २०७७, शुक्रवार १६:२१ बजे प्रकाशित































