प्रदेश १ सरकारले कोरोना संक्रमितको उपचार खर्च व्यहोर्ने
प्रदेश १ सरकारले कोरोना संक्रमितको उपचार खर्च निरन्तर निःशुल्क व्यहोर्ने घोषणा गरेको छ। संघीय सरकारले संक्रमितले आफ्नो उपचार खर्च आफै गर्नुपर्ने नियम बनाइरहँदा प्रदेश १ सरकारले भने उपचार खर्च व्यहोर्ने घोषणा गरेको हो ।
सामाजिक विकास मन्त्री जीवन घिमिरेले कोरोना भाइरस कोभिड १९ संक्रमितको उपचार खर्च उठाउन सरकारले निरन्तरता दिने बताए ।
प्रदेश सरकारले सुरुवातबाट कोभिड अस्पताल, आइसोलेसन चलाउँदै आएको छ। मन्त्री घिमिरेले अहिलेसम्म निःशुल्क सेवा दिइरहेको हुँदा आगामी दिनपनि सो सुविधा निरन्तर रहने बताए ।
आइतबार कोरोना संक्रमितको उपचार खर्च स्वयं विरामीले व्यहोर्नुपर्ने व्यवस्था लागु गरेपछि प्रदेश १ सरकारले यो निर्णय गरेको हो।
तर, नेपाली कांग्रेस प्रदेश १ संसदीय दलका सचेतक सूयर्माराज राईले केन्द्र सरकारले संक्रमितको उपचार खर्चबाट अलगिएको अवस्थामा प्रदेश सरकारबाट आशा गर्ने स्थान नरहेको बताएका छन् ।
३ कात्तिक २०७७, सोमवार १८:४९ बजे प्रकाशित












