शुक्रबार बिहानैदेखि देशका अधिकांश भागमा वर्षा, धेरै स्थानमा भारीदेखि धेरै भारी वर्षा
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले शुक्रबार बिहानैदेखि देशका विभिन्न भागमा भारीदेखि धेरै भारी वर्षा भइरहेको जनाएको छ। महाशाखाले जारी गरेको ताजा मौसमी बुलेटिन अनुसार कोशी, बागमती तथा गण्डकी प्रदेशका धेरै स्थानहरूमा मध्यमदेखि भारी वर्षा दर्ता भएको छ।
यसैगरी लुम्बिनी प्रदेशका थोरै स्थान र मधेश प्रदेशका एक-दुई स्थानमा समेत भारीदेखि धेरै भारी वर्षा भइरहेको छ भने देशका बाँकी अधिकांश भूभागमा हल्कादेखि मध्यम वर्षा जारी रहेको महाशाखाले जनाएको छ।
लगातारको वर्षाका कारण नदी तथा खोलाहरूमा जलसतह तीव्र रूपमा बढ्न सक्ने, पहिरो तथा डुबानको जोखिम उच्च रहने भएकाले जल तथा मौसम विज्ञान विभागले तटीय तथा जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने बासिन्दालाई विशेष पूर्वसतर्कता अपनाउन अपिल गरेको छ।
बाढी पूर्वानुमान महाशाखाले बाढी तथा डुबान सम्बन्धी जानकारीका लागि महशुल नलाग्ने फोन नम्बर ११५५ र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको १२३४ मा सम्पर्क गरी पूर्वसूचना प्राप्त गर्न अनुरोध गरेको छ
९ असोज २०८३, शुक्रवार ०७:३६ बजे प्रकाशित













