भिम बहादुरको त्यो भान्सा बिद्रोह जस्ले फेर्यो टेकबहादुरको जीवन
धनगढी । ”मानिस ठूलो दिल हुन्छ जातले हुँदैन ”महाकवी लक्ष्मीप्रसाद देवकोटाको यो भनाइलाई चरितार्थ गरेका छन् अछामका भिमबहादुर साउँदले । देवकोटाले काव्यमा लेखेको कुरा भिमबहादुरले व्यवहारमा लागू गरेर समाजको दरिद्र सोच भत्काइदिए । करिव २७/२८ बर्ष अगाडि भिमबहादुर समाजमा रहेको जात प्रथाको पर्खाल भत्काउन चट्टन झैँ उभिए र पानी नचल्ने जातले पकाएको भात खाए ।
कल्पना गर्नुस् त आज भन्दा करिव २६/२७ बर्ष अगाडिको समाज त्यो पनि अझै सुदुरपश्चिम त्यस्मा पनि विकट अछाम कति चुनौतीपुर्ण थियो । उस्तै परे आफ्नै जातका मानिसहरु मिलेर मार्ने थिए भिम बहादुरलाई तर उनी डराएन्न समाजसँग र विद्रोह गरे आफ्नै छिमेकका टेक बहादुर पार्कीका लागि ।
सानैमा बुवा गुमाएका टेक बहादुर पार्कीका लागि भिमबहादुर साहरा मात्र बनेन्न अभिभावक बनेर उनलाई आफैंसंग राखेर पढाए लेखाए र संगसंगै हिडाए ।२०५८ साल देखि २०६२ सालसम्म नेपाल विद्यार्थी संघ अछामका जिल्ला सभापति रहेका भिम बहादुरले टेकबहादुरलाई पनि राजनीतिमा समेत संगै हिडाए । हाल टेक बहादुर नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधि छन् ।
समाजले पानी नचल्ने भनेर मान्छे नमानेको जातको हातले बनाएको भात बर्षौदेखी खाइरहेका भिम बहादुर साउँद अहिले अछामको चौरपाटी गाउपालिकाका अध्यक्ष छन् ।
रुढीबादीले जर्जर रहेको समाज जहाँ अहिले पनि महिलाहरु छाउपडी जस्तो कुरितिको सिकार भैरहेका छन् , त्यस्तो समाजमा जातीय विभेद जस्तो सामाजिक कुरिती र कुसंस्कारका विरुद्ध उभिनु भिम बहादुरका लागि सजिलो थिएन तर । उनले पुरै समाज परिवर्तन गर्न नसके पनि आफूलाई परिवर्तन गर्न सक्थे र उनले त्यही गरे । उनी भन्छन्” गाउँ समाजले के भन्छ भनेर मैले कहिल्यै सोचिन किन कि मान्छे सबै एउटै हुन् सबैको रातो रगत बग्छ फरक रगत भएपो भेदभाव गर्नु भनेर मैले समाजको कुरालाई सधैं नसुने झैँ गरिदिए , र अन्त्यमा उनिहरु हारे र म जिते । ”
भिम बहादुर २०४६/४७ देखिनै नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघबाट राजनीतिमा होमिए । राजनीतिमा हिड्ने व्यक्ति संकुचित भावना बोकेर हिड्नु हुँदैन भन्ने कुरामा उनी स्पष्ट थिए । समाजमा रहेको हरेक किसिमको विभेद उन्मुलन हुनका लागि पहिले राजनीतिमा लाग्ने व्यक्तिबाटै विभेदको सोच र व्यवहार हट्नु पर्ने उनी बताउँछन् ।
उनी २०५६ सालदेखि आजसम्म निरन्तर टेक बहादुरका लागि उभिएका छन् । चाहे त्यो समाजमा होस् या त टेक बहादुरको जिवनका हरेक संघर्ष र सफलतामा नै किन नहोस् । उनी समाजमा रहेको जातीय विभेद हटाउन आफुले गर्न सक्ने प्रयास गरिरहेका छन् । विना प्रचार बिना स्वार्थ ।
भिम बहादुरले समाजमा रहेको जात व्यवस्था भत्काउने महत्त्वपूर्ण कदम चाले । उनले त्यतिबेला देखि अछामको चौरपाटी गाउँपलिका सौकटका ती टेक बहादुरलाई आफ्नो भान्सामा प्रवेश गराए । साउँद पार्कीले पकाएको खाना आफू मात्र खाँदैन उनको परिवारले समेत बिना कुनै प्रश्न पार्कीले पकाएको पस्केको खाना खाँदै आएका छन् ।
मानिसहरूलाई लाग्न सक्छ भिम बहादुरले कुन चाहिँ ठूलो काम गरे तर सोच्नुस त जहाँ बर्षौ देखि जातिय विभेदको सिकार भैरहेको समाजका व्यक्तिले एउटा क्षेत्रीको घरको भान्सामा स्थान पाउनु कति ठूलो बिषय हो ? तर भिम बहादुरले त्यस्को प्रचार कतै गरेका छैन्न ।
उनी चुपचाप आफ्नो कर्ममा छन् । टेकबहादुर पार्कीलाई भिमबहदुरले भान्सामा मात्र सिमित राखेका छैन्न उनको जीवन स्तर उकास्ने काम समेत गरेका छन् । टेक बहादुरलाई पढाउदै राजनीतिमा समेत हिडाए । पार्कीले आफ्नो समुदायका लागि केही गरून भन्ने भिम बहादुरले सोचे र गरे पनि । पार्कीको बिवाहमा समेत भिम बहादुरले आर्थिक र पारिवारिक सहयोग गरे र २०७४को स्थानिय तहको चुनाबमा चौरपाटी गाउँपलिका वार्ड न २ सोकटबाट वडा पार्की कि श्रीमतीलाई दलित महिला सदस्यमा उम्मेदवार बनाए फलस्वरुप उनी निर्वाचित भइन ।भिम बहादुर आफू पनि चौरपाटी गाउँपलिकाको अध्यक्षको उम्मेदवार थिए तर उनी मात्र एक भोटले पराजित हुन् पुगे । तर उनले त्यस्लाई हार मानेन्न निरन्तर समाज सेवा र राजनीतिमा सक्रिय रहे र ०७९ को स्थानीय तहको निर्वाचनबाट चौरपटी गाउँपालिकाको अध्यक्षमा निर्वाचित भए । टेक बहादुर पार्की कि श्रीमती दोस्रो पटक पनि दलित महिला सदस्यका रुपमा निर्वाचित भइन र अहिले चौरपाटी गाउँपालिकाको न्यायपालिका सदस्य छिन् ।
मानिस भएर मानिस हुन नपाएको पीडालाई व्यक्त गर्ने कुनै त्यस्तो शक्तिशाली शब्द छैन । वर्षौ देखि उत्पीडन र दमनमा परेको समुदायलाई मल्हम लगाउने एउटा मात्र माध्यम व्यवहार परिवर्तन हो । तर यहाँ समाज ,कानुन ,सरकार सबै शब्दमा मात्र भेटिन्छन् ।
सास मात्र फेरेर जिन्दगी काट्नु बाँच्नु होइन । उनिहरु त पुस्तौ पुस्ता देखि मान्छेबाट मान्छेको व्यवहार खोजिरहेका छन् । मान्छे भएर बाँच्न र मर्न खोजिरहेका छन् ।
ती मान्छे हुन नपाएका व्यक्तिहरुलाई मान्छे मानेर व्यवहार गर्ने भिम बहादुरहरु समाजमा थोरै छन र छायामै छन्
। समाजमा जातको पर्खाल भत्काउन आफ्नै भान्साको ढोका खोलेर मानिस सबै एक हुन् भन्ने भिमबहादुरको यो भान्सा बिद्रोह एक सशक्त बिद्रोह हो । यो विद्रोह अहिलेको जस्तो केही खुकुलो समाजमा गरिएको होइन अझै धेरै रुढीबादी र संकिर्ण सोच भएको समाजमा भएको हो । त्यसैले समाजमा अरु धेरै भिमबहादुरहरु जन्मिनुपर्छ र उनिहरु छायामा होइन उज्यालोमा आउनुपर्छ । अनि मात्र समाज सभ्य बन्द विभेद मुक्त बन्छ । 
१३ कात्तिक २०८३, शुक्रवार १२:२० बजे प्रकाशित














