सुदूर–कर्णाली सिङ्गिङ एण्ड डान्सिङ स्टारको ग्राण्ड फिनाले असोज २३ गते, अध्यक्ष कुँवरले उद्घाटन गर्ने
धनगढी। सुदूरपश्चिम तथा कर्णाली प्रदेशका गायन र नृत्य प्रतिभालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पहिचान दिलाउने उद्देश्यले आयोजना गरिएको ‘सुदूर-कर्णाली सिङ्गिङ एण्ड डान्सिङ स्टार’को ग्राण्ड फिनाले असोज २३ गते धनगढीमा हुने भएको छ।
आयोजकका अनुसार, धनगढीस्थित होटल पौवामा शुक्रबार साँझ ५ बजे हुने ग्राण्ड फिनालेको उद्घाटन सुदूरपश्चिम उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले गर्नेछन्।
ग्राण्ड फिनालेमा गायनतर्फ १२ र नृत्यतर्फ ८ गरी २० जना फाइनलिस्टले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। विभिन्न चरण पार गर्दै फाइनलमा पुगेका प्रतियोगीले अन्तिम प्रतिस्पर्धामा प्रस्तुति दिनेछन्।
प्रतियोगितामा प्रथमदेखि पाँचौँ स्थानसम्मका विजेतालाई पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ। प्रथम हुने प्रतियोगीले २ लाख रुपैयाँ नगदसँगै ४ लाख रुपैयाँ बराबरको अडियो तथा म्युजिक भिडियो निर्माण, दुई वर्षको सम्झौता तथा थाइल्यान्ड, मलेसिया र सिंगापुर भ्रमणको अवसर प्राप्त गर्नेछन्।
द्वितीय, तृतीय, चतुर्थ र पाँचौँ हुने प्रतियोगीलाई पनि नगद पुरस्कारसँगै अडियो तथा म्युजिक भिडियो निर्माणको अवसर प्रदान गरिने आयोजकले जनाएको छ।
ग्राण्ड फिनालेमा प्रतियोगीको अन्तिम प्रस्तुति, विजेता घोषणा तथा पुरस्कार वितरणसँगै सांगीतिक र नृत्य प्रस्तुति रहनेछ।
सुदूरपश्चिम र कर्णाली क्षेत्रका नवप्रतिभालाई अवसर प्रदान गर्दै उनीहरूको कला तथा प्रतिभालाई राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा पुर्याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकको भनाइ छ।
२३ असोज २०८३, शुक्रवार ०८:४१ बजे प्रकाशित














