चाडपर्व नजिकिएसँगै काठमाडौं–धनगढी हवाई भाडा २२ हजारसम्म
धनगढी। चाडपर्व नजिकिएसँगै काठमाडौं–धनगढी हवाई भाडा चर्किएको छ। सामान्य अवस्थामै महँगो हवाई भाडा तिर्न बाध्य सुदूरपश्चिमका नागरिकलाई दशैँ–तिहारको समयमा हवाई भाडा बढेपछि थप आर्थिक भार परेको छ। हाल काठमाडौं–धनगढी एकतर्फी हवाई टिकटको मूल्य २२ हजार रुपैयाँभन्दा बढी पुगेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले काठमाडौं–धनगढी रुटका लागि अधिकतम भाडा २१ हजार ६ सय रुपैयाँ निर्धारण गरेको भए पनि एयरलाइन्स कम्पनीहरूले २२ हजार १८० रुपैयाँसम्म भाडा तोकेको यात्रुहरूले बताएका छन्।
सामान्य अवस्थामा काठमाडौं–धनगढीको हवाई भाडा १० हजार ८ सय रुपैयाँ हाराहारीमा हुने गरेको थियो। तर, अहिले उक्त दरमा टिकट उपलब्ध हुन छाडेको एयरलाइन्स कम्पनीहरूले जनाएका छन्। सोमबारसम्म १० हजार ८ सय रुपैयाँको दरमा केही टिकट उपलब्ध भए पनि मंगलबारदेखि न्यूनतम भाडा नै १५–१६ हजार रुपैयाँ पुगेको छ।
प्राधिकरणले निर्धारण गरेको अधिकतम सीमाभित्र रहेर एयरलाइन्स कम्पनीहरूले मागअनुसार फरक–फरक दरमा टिकट बिक्री गर्न पाउने व्यवस्था रहेको बताइएको छ। सामान्य अवस्थामा अधिकतम भाडाको करिब ५० प्रतिशत हाराहारीमै टिकट बिक्री हुने गरे पनि चाडपर्वका बेला यात्रुको चाप एकतर्फी हुने भएकाले भाडा बढ्ने गरेको विमान कम्पनीहरूको तर्क छ। काठमाडौं–धनगढी रुटमा चाडपर्वका बेला काठमाडौं हुँदै धनगढी आउने यात्रुको संख्या अत्यधिक हुने तर धनगढीबाट काठमाडौं फर्कने यात्रु तुलनात्मक रूपमा कम हुने भएकाले भाडा समायोजन गर्नुपरेको एयरलाइन्स कम्पनीहरूको भनाइ छ।
धनगढी विमानस्थलका प्रमुख महेन्द्रबहादुर सिंहले भने प्राधिकरणले निर्धारण गरेको अधिकतम भाडाभन्दा बढी रकम लिन नपाइने बताएका छन्। यसैबीच हवाई भाडा अत्यधिक बढेको भन्दै कैलाली क्षेत्र नम्बर ५ बाट निर्वाचित सांसद आनन्दबहादुर चन्दले सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।
सांसद चन्दले सुदूरपश्चिमका नागरिकमाथि हवाई भाडाको अत्याचार कहिलेसम्म भन्ने प्रश्न गर्दै चाडपर्वका बेला तत्काल थप उडानको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्। उनले सुदूरपश्चिमको गरिबी दर ३४.१६ प्रतिशत रहेको उल्लेख गर्दै तीन जनामध्ये करिब एक जना गरिबीको रेखामुनि रहेको प्रदेशका नागरिकले काठमाडौं–धनगढी एकतर्फी यात्राका लागि २२ हजार रुपैयाँभन्दा बढी तिर्नुपर्ने अवस्था न्यायोचित नभएको बताएका छन्।
हवाई सेवा पर्यटकीय वा व्यावसायिक यात्राका लागि मात्रै नभई उपचार, शिक्षा, वैदेशिक रोजगारी, अत्यावश्यक पारिवारिक काम तथा चाडपर्वमा घर फर्किने नागरिकका लागि जीवनरेखासँग जोडिएको भन्दै उनले हवाई भाडा नियन्त्रणमा सरकार गम्भीर बन्नुपर्ने बताएका छन्। सांसद चन्दले काठमाडौं–धनगढी रुटमा तत्काल कम्तीमा दुईवटा अतिरिक्त विमान परिचालन गरी थप उडानको व्यवस्था गर्न, नेपाल वायुसेवा निगम तथा निजी विमान कम्पनीसँग समन्वय गरी यात्रुको चापअनुसार उडान संख्या बढाउन माग गरेका छन्।
त्यस्तै, हवाई भाडाको अधिकतम सीमा, वास्तविक टिकट मूल्य तथा अतिरिक्त शुल्कको प्रभावकारी अनुगमन गरी अस्वाभाविक भाडा असुली नियन्त्रण गर्न र चाडपर्व तथा अत्यधिक यात्रु चाप हुने समयमा सर्वसाधारणले धान्न सक्ने भाडामा हवाई सेवा उपलब्ध गराउने विशेष व्यवस्था गर्न उनले सरकारसँग आग्रह गरेका छन्।
सुदूरपश्चिम राजधानीबाट भौगोलिक रूपमा टाढा रहेको उल्लेख गर्दै सांसद चन्दले राज्यको सेवा–सुविधाबाट पनि नागरिकलाई टाढा नबनाउन आग्रह गरेका छन्। उनले सुदूरपश्चिमका नागरिकले विशेष सुविधा नभई न्यायोचित हवाई भाडा, सहज यात्रा र राज्यको समान व्यवहार खोजेको बताएका छन्।
२१ असोज २०८३, बुधवार १५:२९ बजे प्रकाशित














