बाल्यकालको त्यो खुला मैदान, जहाँ सम्झनाहरू अझै दौडिरहेका छन्

धनगढी। बिहान सबेरैदेखि सांँझसम्म केटाकेटीहरुको भागदौड हुन्छ कोहि बल समाउँन दौडिन्छ्न कोहि ब्याटिङ गरेर दौडिरहेका हुन्छ । कसैले चौका छक्का भन्दै उफ्रिरहेका हुन्छन् । उनिहरु दौडे खेलेको उफ्रेको देखेर म एक्छिन आफ्नै बाल्यकालमा पुग्छु ।

घर पछाडिपट्टिको एउटा ठुलो खाली मैदान
जहाँ मेरा पाइलाहरु कयौ पटक उफ्रे कयौ पटक दौडे कयौ पटक मेरा साथीहरुसंग थकाइमारे ।

हुन त अहिले त्यहाँको दृश्य फेरिएको छ आँखाले एकैपटक हेरेर नभ्याइने त्यो खालीजमिन अहिले साँघुरिएको छ । वरिपरि ठुला घरहरु ठडिएका छन् । तर पनि खुला चौर बाँकी छ । पहिले पहिले त त्यहाँ गौँ धान पनि रोपिन्थ्यो त्यो जमिनलाई डिल्लिराजको गडा भनिन्थ्यो अहिले पनि त्यो डिल्लिराजको गडा नै हो । मलाई डिल्लिराज को हुन त्यति त थाहा छैन तर सुनेको छु उनी धनगढीका ठुला जमिनदार थिए रे । अहिले पनि त्यो जमिन उनकै परिवारको स्वामित्वमानै छ सायद ।

धनगढी बजारको मुटुमा रहेको त्यो खुल्ला जमिनले त्यति सम्मान पाएको मैले बाल्यकालमा त्यति महसुस गरेकी छैन तर आज त्यहाँको दृश्य फेरिएको छ त्यो जमिनले सम्मान पाएको छ उस्को रुप फेरिएको छ आज प्रत्येक बर्ष त्यहाँ सुदुरपश्चिम महोत्सव लाग्छ । अझ केही समय अगाडी श्रीमद्भागवत कथा पनि लागेको थियो ।

मानिस जस्तै खुल्ला ठाँउको पनि स्वरुप फेरिँदो रहेछ । सम्मान र उचाई हुँदोरहेछ जस्तो लाग्छ आज मलाई ।

पहिलेको फोहोर र झाडीले ढाकिएको ठाउँले अहिले सम्मान पाएको छ ।

सुदूरपश्चिम महोत्सव लाग्दा त्यहाँ हजारौं मानिसहरुको आगमन हुन्छ , करोडौंको व्यापार हुन्छ । नेपाल तथा भारतको सिमा क्षेत्रका व्यापारीहरु आउछन् व्यापार गर्छन् र जान्छन् । श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ कथा वाचनमा हजारौं श्रद्धालुहरु आउछ्न त्यो जमिनलाई ढोगेर जान्छन् । यसरी एउटा मानिसहरुले नाक मुख खुम्च्याउने त्यो खुला चौरको जिवनमा आएको परिवर्तन मेरालागी प्रेरणा बनेको छ । आखिर जस्तो सुकै अवस्था र समयको पनि सुखद समय राम्रो समय आउँदो रहेछ ।

तर आज फेरिएको त्यो खुला चौर भन्दा कयौ गुणा सुन्दर मलाई फेरि त्यही मेरो बाल्यकालको खुला ठूलो चौर लाग्छ

मेरो लागि त्यो चौर केवल एउटा खाली ठाउँ वा मैदान मात्र होइन, मेरो बाल्यकालका स्मृतिहरु, सम्झनाहरु अडिएको ठाउँ हो।

बाल्यकालमा त्यही मैदान मेरा लागि खेल्ने ठाउँ थियो, हाँस्ने ठाउँ थियो, साथीहरूसँग रमाउने ठाउँ थियो। स्कुल छुट्टी भएको दिनबिहानदेखि साँझसम्म त्यहाँ खेलेर बित्थ्यो। डरलाग्दो थियो त्यो ठाउँ तर पनि प्यारो लाग्ने खेल्न जानै पर्ने हामी साथीहरुलाई ।

ठाउँ–ठाउँमा फोहोर हुन्थ्यो, झाडी पलाएका हुन्थे। तर बच्चाहरुलाई त्यसले के फरक पार्थ्यो र! त्यही फोहोर मैदान हाम्रा लागि खेल्ने संसार थियो।

दशैं आउँदा अझ त्यो जमिनसँगको सम्बन्ध अझ विशेष हुन्थ्यो। दशैंको समयमा म र मेरो भाइ आनि मेरा साथीहरुसंग त्यहाँ खसी बोका चराउन जान्थेँ। खसीबोकाको पछि–पछि हिँड्दै, छिनछिनेका पात समात्दै साथीहरूसँग गफ गर्दै र खेल्दै बिताएका ती दिनहरू अहिले सम्झँदा निकै प्रिय लाग्छन्।

समयसँगै मैदान फेरियो, वरपरको वातावरण फेरियो। पहिले फोहोर देखिने ठाउँ अहिले सफा भएको छ। त्यहाँ अहिले मानिसहरु मर्निङ वाक इभिनिङ वाक गर्दै गरेका हुन्छन् बच्चाहरु खेल्दै गरेका भेटिन्छन् । तर मनमा कता कता डर पनि लाग्छ अब केही समय पछि त्यो खुल्ला चौरमा ठुला ठुला घरहरु ठडिने छन् र मेरा बाल्यकालका स्मृतिहरु केवल स्मृतिमा रहनेछन् । खाली जमिन खुल्ला चौर केवल सम्झनामा सिमित हुनेछ ।


९ असोज २०८३, शुक्रवार ०९:१७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु