आज बजेट ल्याउँदै सुदूरपश्चिममा सरकार
धनगढी। नेकपाका खगराज भट्ट नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारले आज चालु आर्थिक वर्ष २०८३/८४ को बजेट प्रदेशसभामा पेश गर्दैछ। प्रदेश सरकारले बुधबार साँझ ५ बजे प्रदेशसभामा बजेट प्रस्तुत गर्ने तयारी गरेको हो।
मंगलबार बसेको प्रदेशसभाको कार्यव्यवस्था तथा परामर्श समितिको बैठकले बजेट प्रस्तुत गर्न साँझ ५ बजे प्रदेशसभा बैठक बोलाउने निर्णय गरेको थियो। बजेट प्रस्तुत गर्ने प्रयोजनका लागि प्रदेशसभा बैठक आह्वान गर्न सरकारले पत्र पठाइसकेको प्रदेशसभाका सभामुख भीम भण्डारीले बताए।
यसअघि तत्कालीन मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकारले असार १ गते प्रदेशसभामा प्रस्तुत गरेको चालु आर्थिक वर्षको बजेट पारित हुन सकेको थिएन। बजेट पारित नभएपछि प्रदेशको राजनीतिक समीकरणसमेत परिवर्तन भयो र नेकपाका खगराज भट्ट एमालेको समर्थनमा मुख्यमन्त्री बनेका हुन्।
बजेट पारित हुन नसक्दा प्रदेशमा राजस्व संकलनको काम भने रोकिएको थिएन। तर खर्च गर्ने कानुनी आधार नहुँदा साउन १ गतेदेखि प्रदेश सरकार बजेट शून्यताको अवस्थामा पुगेको थियो।
बजेट शून्यताको प्रत्यक्ष असर प्रदेशका अस्पताल, विकास आयोजना कार्यान्वयन, कार्यालय सञ्चालन तथा कर्मचारी र पदाधिकारीको तलबभत्तामा परेको थियो। लामो समयदेखि रोकिएको सरकारी खर्चको बाटो खोल्न प्रदेश सरकारले आज नयाँ बजेट प्रदेशसभामा पेश गर्न लागेको हो।
बजेट प्रदेशसभाबाट पारित भएपछि मात्रै प्रदेश सरकारलाई चालु आर्थिक वर्षको नियमित खर्च गर्ने कानुनी आधार प्राप्त हुनेछ।
२१ असोज २०८३, बुधवार ०८:५६ बजे प्रकाशित














