punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

थारु समुदायको मौलिक पर्व ‘गुरही’ आज मनाइँदै

Chaupati
safha napa

कैलाली। थारु समुदायले पहिलो पर्वका रुपमा मनाउने ‘गुरही’ आज उल्लासपूर्वक मनाइँदैछ।

विभिन्न कार्यक्रमको आयोजना गरी कैलालीलगायत थारु समुदायमा यो पर्व मनाइँदैछ। थारु समुदायले मनाउने गुरही पर्व एक विशिष्ट सांस्कृतिक पहिचान बोकेको जनविश्वास छ। विशेषगरी पश्चिम नेपालका कैलाली, कञ्चनपुरलगायत जिल्लामा बसोबास गर्ने थारु समुदायले यो पर्वलाई विशेष महत्त्वका साथ मनाउँछन्।

यो पर्व श्रावण शुक्ल पञ्चमी अर्थात् नागपञ्चमीको दिन मनाइन्छ । नागपञ्चमीमा विशेषगरी नेपालीहरू नागको पूजाआजा गर्छन् भने थारु समाजमा ‘गुरही’ पूजा हुने गरेको घोडाघोडी नगर भल्मन्सा कार्यसमितिका अध्यक्ष बुधराम चौधरीले जानकारी दिए। गुरही पूजा गर्दा विषालु सर्प घरमा नआउने, घरमा चट्याङ नपर्ने, आगलागी नहुने, रोगव्याधी महामारी घरमा प्रवेश नगर्ने जनविश्वास रहिआएको उनले बताए।

पर्वका अवसरमा विभिन्न कार्यक्रम पनि आयोजना गरिन्छ। यसैबीच घोडाघोडी नगर भलमन्सा कार्यसमितिको आयोजनामा गुरही असरैना कार्यक्रम गरिने नगर भलमन्सा कार्यसमितिका सचिव अमन चौधरीले जानकारी दिए। उनका अनुसार कार्यक्रममा विभिन्न सांस्कृतिक नाचगान पनि देखाइनेछ। गुरही पूजाका अवसरमा कैलालीका स्थानीय तहहरुले सार्वजनिक बिदासमेत दिएका छन्।

कसरी मनाइन्छ गुरही?
गुरही पर्व खासगरी बालबालिकासँग सम्बन्धित मानिन्छ। पछिल्लो समय सबै उमेर समूहका मानिसहरूले यो पर्व मनाउने गरेका छन्। यो पर्व श्रावण शुक्ल पञ्चमी अर्थात् नागपञ्चमीको दिन मनाइन्छ। ‘गुरही’ एक प्रकारको गाइने कीराको प्रतीक रहेको बताउँदै यसले वातावरणलाई दूषित बनाउने कीटाणु र लामखुट्टेलाई आफ्नो आहारा बनाउने थारु अगुवा पञ्चराम चौधरीले जानकारी दिए। यही गाइने कीराको प्रतीकका रूपमा कपडाको गुरही (पुतली) बनाएर पूजा गरी मनाइने भएकाले यस पर्वको नाम गुरही रहन गएको उनको भनाइ छ।

पर्वको केही दिनअघिदेखि थारु समुदायमा घर आँगन लिपपोत गरी सफा बनाइन्छ। पर्वको दिन बिहानै नुहाइधुवाइ गरी शुद्ध भइन्छ। महिलाले रङ्गीचङ्गी कपडाका टुक्राहरूबाट ‘गुरही’ अर्थात् पुतली बनाउँछन्। केटाहरूले बाँस वा जुटको प्रयोग गरी गुरही पिट्ने (कोर्रा) लट्ठी बनाउँछन्।

साँझपख गाउँका मानिस, विशेषगरी बालबालिका र युवती, नयाँ कपडा लगाएर ढकियामा भुजा, मकै, केराउ, चना र कपडाको गुरही लिएर गाउँको चोक वा चौराहामा भेला हुन्छन्। गाउँको अगुवा (भलमन्सा) ले दुबोमा गाँठो पारेर पूजाको सुरुआत गर्छन्। त्यसपछि युवतीले ल्याएका गुरहीलाई एक ठाउँमा राखेर पूजा गरिन्छ। भाइबहिनीबीचको माया प्रेमको प्रतीकका रूपमा मनाइने यो पर्वमा दिदीबहिनीले गुरिया फाल्ने गर्छन् र भल्मन्साको आदेशमा दाजुभाइले उक्त गुरियालाई लट्ठीले पिट्छन् र दुवै पक्ष रमाउँछन्।

ठटाउने बेला उनीहरू ‘देऊ घुघरी’ ‘लेउ घुघरी’ को नारा लगाउँछन्। यसलाई ‘गुरही असरैना’ भनिन्छ। यसरी गुरही पिट्दा गाउँघरमा रहेका रोगव्याधी र दुष्ट आत्माहरू भाग्छन् भन्ने विश्वास रहेको नगर भल्मन्सा अध्यक्ष बुधराम चौधरीले बताए। उनका अनुसार गुरही पिटिसकेपछि युवतीले आफूले ल्याएको भुजा, चना, मकैजस्ता गेडागुडी प्रसादका रूपमा सबैलाई बाँड्छन्।

‘गुरही’ लाई ठटाइसकेपछि नदी, कुलोमा अन्त्येष्टि गर्छन्। त्यसो गरेमा गाउँघरमा रहेको रोगव्याधी र सङ्कट पानीसँगै बगेर जाने र सुखलाभ प्राप्त हुने विश्वास छ। कोहीले कपडाको टुक्रा सङ्कलन गरेर घरतिर घरको ढोकामा बाँध्ने गरिन्छ। यसोगर्दा घरमा रहेको दुःख, कष्ट, सर्प बिच्छीहरू घरबाट निस्केर जाने जनविश्वास रहेको नगर भलमन्सा अध्यक्ष चौधरीले बताए।


१३ साउन २०८२, मंगलवार ०९:२८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु