किशोरी हत्या प्रकरण : प्रेमीको यौन प्रस्ताव स्वीकार नगर्दा सरस्वतीको हत्या ,घटना लुकाउन नमान्दा इशराको पनि हत्या

अछाम। अछामको ढकारी गाउँपालिका–१ को सोडसा सामुदायिक वनको छिन्ने ओडारमा मृत भेटिएका दुई किशोरीको ढुङ्गा प्रहारबाट हत्या भएको प्रहरी अनुसन्धानले देखाएको छ । मृतक मध्ये सरस्वतीको प्रेमीले यौन सम्बन्ध कायम गर्न गरेको प्रस्ताव अस्वीकार गर्दा हत्या भएको र इशराको सरस्वतीको हत्या लुकाउन अस्विकार गर्दा हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको छ।
१४ वर्षीया इशरा खड्का र १५ वर्षीया सरस्वती खड्काको हत्यामा उनीहरुकै प्रेमी दुई किशोरको ढुंगा प्रहारबाट भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ।
जिल्ला प्रहरी कार्यालय अछामले शनिबार बिहान पत्रकार सम्मेलन गरि घटनाबारे तथ्यहरु सार्वजनिक गरेको छ। पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डिएसपी ईश्वरी प्रसाद भण्डारीले सुरुमा १५ वर्षीया सरस्वतीको र त्यसपछि इशराको ढुंगा प्रहारबाट हत्या भएको अनुसन्धानबाट खुलेको बताए ।
हत्या गर्ने एक जना नाम परिवर्तित (६९ मंगलसेन ७६) ईशराको प्रेमी रहेको र अर्का परिवर्तित नाम (६९ मंगलसेन ७३) सरस्वतीको प्रेमी रहेको खुलेको छ।
दुबै किशोरहरू हत्याकोदुई दिनअघि मंगलसेनबाट डुफा आएका थिए। प्रहरीका अनुसार उनीहरूले पटकपटक फोन गरेर भेट्न बोलाएको देखिएको छ। घटनामा संलग्न दुबै किशोर प्रहरीको नियन्त्रणमा छन्।
सरस्वतीको प्रेमीले सुरुमा यौन प्रस्ताव गर्दा उनले अस्वीकार गरेपछि किशोरले आवेगमा ढुंगा प्रहार गरी हत्या गरेको बयान प्रहरीसमक्ष दिएको भण्डारीले बताए। सरस्वतीले विहे गर्ने भए मात्रै यौन सम्पर्क गर्न दिने भनेपछि आफ्नो उमेर कम भएको र चार/पाँच वर्ष पछि मात्रै विहे गर्ने ति किशोरले बताएको प्रहरीले जनाएको छ।
ति किशोरले सरस्वतीलाई मायाको चिनोस्वरुप चुन्नी माग्दा नदिएपछि विवाद सुरु भएको खुलेको छ। प्रहरीका अनुसार सरस्वतीको हत्या भएको कुरा इशराले केहीबेर पछि मात्रै थाहा पाएकी थिइन्। उक्त कुरा कसैलाई नभन्नु भनेर किशोरहरुले भन्दा इशराले अस्वीकार गरेर घर जान खोजेपछि उनको पनि ढुंगा प्रहार गरी हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ।
दुई किशोरी गत शुक्रबार बाख्रा चराउन गएका बेला बेपत्ता भएर भोलिपल्ट सोडसा सामुदायिक वनमा मृत भेटिएका थिए। उनीहरु नाताले फूपू भदै हुन्। घटनामा संलग्न दुई किशोरविरुद्ध मृतकका आफन्तले प्रहरीमा किटानी जाहेरी दिएका थिए।
केन्द्रीय अनुसन्धान ब्यूरोको समेतको सहयोगमा घटनाको सुक्ष्म अनुसन्धान गरी प्रहरीले एक सातापछि घटनाको अनुसन्धान सकेको हो।
यस्तो छ घटनाको विवरण
१९ माघ २०८१, शनिवार १८:४७ बजे प्रकाशित