६ वर्षसम्म सुदूरपश्चिमको स्थायी राजधानी कागजमा सिमित

कैलाली।सुदूरपश्चिम प्रदेशसभाले दुई तिहाई बहुमतले स्थायी राजधानीको टुङ्गो लगाएको छ वर्ष बितिसक्दा पनि राजधानी निर्माणको काम अघि बढ्न सकेको छैन। विसं २०७५ मा प्रदेशसभाले कैलालीको गोदावरी नगरपालिका–२ र ४ को बीचमा पर्ने तेघरी क्षेत्रमा राजधानी स्थापना गर्ने र प्रदेशको नाम ‘सुदूरपश्चिम प्रदेश’ राख्ने निर्णय गरेको थियो।तर, संघीय सरकारले राजधानी निर्माण गरिने जग्गा हस्तान्तरण नगरेका कारण काम रोकिएको प्रदेश सरकारले जनाएको छ। राजधानीको लागि तोकिएको क्षेत्रमा रुख, बुट्यानसहितको जङ्गल भएको र वन क्षेत्रको जग्गा भएकाले हालसम्म प्रक्रिया अघि बढ्न सकेको छैन।
स्थानीयवासी निराश
स्थायी राजधानीको घोषणा हुँदा उत्साहित भएका स्थानीयवासी यतिबेला निराश बनेका छन्। स्थानीयवासी जगविर थापाले भने, “तेघरीमा राजधानी बन्ने आशाले हामी निकै खुसी थियौँ, तर सरकारको पहल नदेखिँदा निराश छौँ। चाँडै निकास दिनुपर्छ।”
प्रतिभा पुस्तकालयका उपाध्यक्ष यज्ञराज हमालले नेताहरूको सक्रियता नहुँदा राजधानी स्थापनामा प्रगति हुन नसकेको बताए। उनले भने, “छ वर्षअघि जस्तो थियो, अहिले पनि त्यस्तै छ। नेताहरूले पहलकदमी नलिएपछि यो विषय अलपत्र परेको छ।”
विरोध र असहमति
राजधानी स्थापनाको निर्णयसँगै केही संरक्षणप्रेमी र प्रमुख प्रतिपक्षी दलले जङ्गल मासेर राजधानी बनाउँदा मोहना नदी करिडर र जैविक विविधतामा असर पर्ने भन्दै असहमति जनाएका थिए।
राजनीतिक दलहरूको भूमिकामा कमजोरी :-
चुनावको प्रचारका बेला राजधानी स्थापनाको मुद्दालाई प्राथमिकतामा राखे पनि अहिले कुनै ठोस पहल नभएको आरोप स्थानीयवासीले लगाएका छन्।
यज्ञराज हमालका अनुसार नेताहरूको पहलकदमीको अभावका कारण स्थायी राजधानी निर्माणको काम अलपत्र परेको छ।
मुख्यमन्त्रीको चेतावनी
मुख्यमन्त्री कमलबहादुर शाहले संघीय सरकारबाट ठोस निर्णय नआए विकल्प खोजिने चेतावनी दिएका छन्। उनले भने, “प्रधानमन्त्रीसहित दलका शीर्ष नेताहरूलाई लिखित आग्रह गरिएको छ, तर हालसम्म कुनै सुनुवाइ भएको छैन।”
प्रदेश सरकारको आगामी अधिवेशनमा यस विषयमा उपयुक्त निर्णय गर्दै अघि बढ्ने योजना बनाइएको छ।
बजेटबाट हराएको राजधानीको मुद्दा
आरम्भका वर्षहरूमा प्रदेश सरकारको बजेट कार्यक्रममा राजधानी स्थापनाको विषय समेटिए पनि पछिल्ला वर्षमा यो मुद्दा बजेटबाट हराएको छ। यसले राजधानी निर्माणको सम्भावना अझै अन्योलमा पारेको छ।
छ वर्षपछि पनि शून्य प्रगति
स्थायी राजधानीको टुङ्गो लागेको लामो समय बितिसक्दा समेत निर्माणस्थलमा कुनै काम भएको छैन। स्थानीयवासीले राजधानी स्थापनाका लागि तत्काल ठोस पहल गर्न सरकारसँग माग गरेका छन्।
३ पुस २०८१, बुधवार ११:१९ बजे प्रकाशित