रानाथारु महिला आज तीज पर्व मनाउँदै, धनगढी र बेलौरीमा सार्वजनिक बिदा
धनगढी । कैलाली, कञ्चनपुरमा बसोबास रहेको रानाथारु समुदायका महिला बुधबार तीज पर्व मनाइ रहेका छन्।
आ–आफ्ना दाजुभाई र भतिजाका दीर्घायुका लागि रानाथारु महिला व्रत बसेर तीज पर्व मनाइरहेका हुन्। धनगढी गाउँका स्थानीय रामरतोदेवी रानाका अनुसार तीजको दिन दिनभरि निराहार व्रत बसेर बेलुकातिर नदीमा गएर पूजा गर्ने चलन रहेको छ । त्यस क्रममा व्रतालु महिलाहरुले सामनकी डोला बनाउन प्रयोग गरिएको डोरी (मुरिया) काटेर नदीतिर लाग्ने गरेका छन्।
यस्तै, झुरकी (कुसको गाँठो) बनाएर लग्ने चलन छ। विवाहित व्रतालुले सात वटा गाँठो र अविवाहितले पाँच वटा गाँठो बनाएर झुरकी लग्ने र मुरियासहित त्यसलाई नदीमा सेलाउने गरेको जनाइएको छ।
सो क्रममा व्रतालुहरुले झुरकी र मुरियालाई नदीको धारमा छोडेर “धारैधार टाढा जानू, हाम्रो दाजुभाई, भतिजाको उमेर बढाउनू” भन्ने गरेको रामरतोले बताए। नदीमा झुरकी बगेर जति टाढा जान्छ, दाजुभाई, भतिजाको आयु त्यति नै लामो हुने जनविश्वास रहेको उनले उल्लेख गरे।
तीजको पूजाआजापछि व्रतालुसहित घरपरिवार सबै मिलेर सिमही, पुरी, गुलगुला, पकौडा, पपरा लगायतका मिठा परिकार खाने चलन रहेको छ। यसैगरी, दाजुभाईहरुले व्रतालुहरुलाई आशिर्वादको साथै सकेको दक्षिणा पनि दिने चलन रहेको छ। यस्तै, व्रतालुहरु सामनको डोला खेलेर रमाउने गरेको जनाइएको छ।
तीज रानाथारु समुदायका महिलाको विशेष र सामाजिक, सांस्कृतिक, भाषिक, ऐतिहासिक महत्व बोकेको विशिष्ट पर्व रहेको नेपाल रानाथारु समाजका अध्यक्ष कृपाराम रानाको भनाइ छ।
धनगढी र बेलौरीमा सार्वजनिक बिदा
कैलालीको धनगढी र कञ्चनपुरको बेलौरीमा आज सार्वजनिक बिदा रहेको छ। कैलाली र कञ्चनपुर जिल्लामा बसोबास रहेको आदिवासी रानाथारु जातिका महिलाहरूले मनाइने तीज पर्वको अवसरमा धनगढी उपमहानगर र बेलौरी नगरपालिकाले सार्वजनिक बिदा दिएको हो।
उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रबहादुर खातीद्वारा जारी सूचना अनुसार बुधवार सार्वजनिक बिदा दिइएको हो।
यसैबिच धनगढी उपमहानगरकी उपप्रमुख कन्दकला रानाले पर्वको अवसरमा शुभकामना दिएकी छन्। पर्वले रानाथारु जातिको ऐतिहासिक संस्कृति परम्पराको जर्गेनाका साथै रानाथारु जातिको पहिचानलाई उजागर गर्न भूमिका खेल्दै आएको उल्लेख गर्दै उनले शुभकामना दिएकी हुन्।
उता कञ्चनपुरको बेलौरी नगरपालिकाले पनि स्थानीय बिदा दिने निर्णय गरेको छ। राना थारु समुदायले विशेष महत्वका साथ मनाउने तिज पर्वका अवसरमा नगरपालिका क्षेत्रभित्र स्थानीय बिदा दिइएको सूचनामा उल्लेख छ।
२३ साउन २०८१, बुधवार १३:०० बजे प्रकाशित