निसर्गमा डाक्टरको ‘लापरबाही’ले ज्यान गुमाएकी युवतीको दाहसंस्कार

धनगढी । धनगढी स्थिति निसर्ग अस्पतालमा उपचारको क्रममा ज्यान गुमाएकी युवतीको दाहसंस्कार गरिएको छ ।

सोमबार राति ज्यान गुमाएकी धनगढी उपमहानगरपालिका वडा नम्बर १ शिवनगर बस्ने २० वर्षीया लक्ष्मी जोशीको बुधबार दाहसंस्कार गरिएको हो ।

उनको सेती प्रादेशिक अस्पतालमा पोष्टमार्टमपछि धनगढी-८ त्रिवेणी आर्यघाटमा दाहसंस्कार गरियो ।

सामान्य पेट दुखेर राति १२ बजे अस्पताल भर्ना भएकी उनको तीन घण्टाको फरकमा राति ३ बजे नै मृत्यु भएको थियो ।

डाक्टरको लापरबाहीले गर्दा नै विरामीको मृत्यु भएको भन्दै आफन्तले शव बुझ्न मानेका थिएनन् ।

अस्पताल प्रशासन र पीडित पक्षबीच भएको लामो छलफलका क्रममा उपचारमा संलग्न डाक्टर ओमप्रकाश भट्टले आफ्नो गल्तीले विरामीको मृत्यु भएको स्वीकार गरेपछि सहमतिको वातावरण बनेको थियो । डाक्टर भट्टले डबल मात्रामा औषधि दिँदा बिरामीको मृत्यु हुनपुगेको स्वीकार गरेका थिए ।

डाक्टरले गल्ती स्वीकार गरेपछि अस्पतालबाट उनलाई जागिरबाट बर्खास्त गर्नुपर्ने, मेडिकल काउन्सिलमा कारबाहीका लागि सिफारिस पत्र पठाउने, उनीविरुद्ध जिल्ला प्रहरी कार्यलमा उजुरी दिने र पीडित परिवारलाई २५ लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने बुँदामा सहमति भएको थियो ।

युवतीको मृत्यु भएपछि सुरुवातमा डाक्टरले गल्ती स्वीकार गरेका थिएनन् । पीडित पक्षले भने उपचारमा संलग्न डाक्टरलाई कारबाही हुनुपर्नेलगायतका माग राख्दै शव बुझ्न मानेका थिएनन् ।

मृतक जोशी हेल्थ असिस्टेन्ट (एचए) पढ्दै गरेकी थिइन् । उनी धनगढीकै नवजीवन अस्पतालमा ‘वजेटी’ गरिरहेकी थिइन् ।


२६ असार २०८१, बुधवार १६:०६ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु