कांग्रेससँग मिलेर सरकार बनाउने तयारी छैन : ओली
काठमाडौं । नेकपा एकालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई तत्काल कांग्रेससँग मिलेर सरकार बनाउने तयारी नभएको बताएका छन् ।
आज बिहान ९ बजेदेखि करिब ४ घण्टा चलेको छलफलमा एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डलाई यस्तो आश्वासन दिएका हुन् ।
उनले बाहिर आएजस्तो कांग्रेस र एमाले मिलेर सरकार बनाउने तयारी नभएको भन्दै प्रधानमन्त्री प्रचण्डलाई आश्वस्त पारे।
छलफलका क्रममा दुई नेताबीच यही सरकारलाई बलियो बनाएर लैजाने विषयमा सहमति भएको बताइएको छ ।
नयाँ सत्ता समीकरणको प्रयास भइरहेको चर्चाकाबीच प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच लगातार दुई दिन भएको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
शनिबार ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई घरमै बोलाएर तीन घण्टा छलफल गरेपछि माओवादी सशंकित छ । सो भेटमा देउवाले ओलीलाई प्रधानमन्त्रीको अफर गरेको विषय बाहिर आएको थियो ।
१७ असार २०८१, सोमवार १६:०० बजे प्रकाशित































