वर्षमा १० जोर थारु लुगा सिलाएर बिक्री गर्दा पनि घरखर्च राम्रै चलेको छ

कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाउँपालिका–४ खल्लाजाइँकी ४६ वर्षीया मन्तुरा राना परम्परागत पहिरन सिलाउने काम गर्नुहुन्छ । राना थारु समुदायका लोप हुँदै गएका पहिरन सिलाउँदै उहाँले आफ्नो परिवारको घरखर्च जोहो गर्दै आउनुभएको छ ।

दोदा नदीको बगरमा मन्तुराले बगर खेती पनि गर्नुभएको छ । तरकारी हेरचाह गर्न छाप्रो बनाएर बस्नुभएकी उहाँ फुर्सदको समयमा पहिरन सिउने काममा व्यस्त हुनुहुन्छ । “आजभोलि लुगा सिउने मेसिनले कपडा सिउँदा निकै सजिलो भएको छ ।

परम्परागत पहिचान बोकेका पहिरन लगाउने क्रम अहिले घट्दो छ”, उहाँले भन्नुभयो, “कुनै कार्यक्रम, चाडबाडमा मात्रै यस्तो लुगा लगाउँछन् । पहिचान संरक्षणका लागि टेवा पु¥याउन सकेकोम खुसी लाग्छ ।”

रानाथारु समुदायले लगाउन अङ्गिया (चोली), घगरिया, उनिया (चुन्नी) लगायतका पोसाक तयार पार्ने गरेको उहाँले बताउनुभयो । ती कपडामा फूलजस्तै देखिने फुर्का लगाउनुपर्छ । आमाबाट सिकेको सीपले मेहनत गर्दै आकर्षक पहिरन तयार पारेर पस्किने गर्नुभएको छ । “ आमासँग लुगा सिलाउने सिकँे । अहिले त्यहीँ सीपले गुजारा चलेको छ ।

एक जोर लुगा तयार गर्न एक महिनाभन्दा बढी समय लाग्छ ”, उहाँले भन्नुभयो, “लुगा आफैँले ल्याएर तयार गरेको रु आठ हजार लिन्छौँ । हामीले नै लुगा किनेर तयार पारेको पहिरनको रु २० हजारसम्म लिने गरेका छौँ ।”

डाँडाजाइँकै घुम्नी राना पनि आफ्नो समुदायका मौलिक पोसाक बनाउने काम सक्रिय हुनुहुन्छ । सानैमा आमा र हजुरआमाबाट उहाँले पहिरन सिलाउने सीप सिक्नुभएको हो । तत्कालीन समयमा हातले नै पहिरन सिउने गरिएको उहाँ बताउनुहुन्छ । “हातले पहिरन बनाउन निकै बढी समय लाग्थ्यो । हातले बनाउनेबाट अहिले मेसिनको प्रयोग हुनथालेको छ । यसले छोटो समयमै लुगा तयार गर्न सकिन्छ”, उहाँले भन्नुभयो, “वर्षमा दश जोर लुगा सिलाउँछु । बालबालिकाको पठनपाठनदेखि घरखर्च राम्रैसँग चलेको छ ।”

पहिरन बनाउन गाउँकै मानिस उहाँको घरमा आउने गर्छन् । पहिरन बनाउन आवश्यक पर्ने कपडादेखि फुर्क बनाउने साम्रगी स्थानीय बजारमा नपाइदा केही असहजता हुने गरेको घुम्नीको भनाइ छ ।


१० असार २०८१, सोमवार ०८:०५ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु