दैजी–जोगबुढा सडक निर्माणको काम अलपत्र

कञ्चनपुर । महेन्द्रनगर र डडेल्धुराको भित्री मधेस जोड्ने दैजी–जोगबुढा सडक निर्माणको काम अलपत्र परेको छ ।
विसं २०७४ वैशाख ८ मा तीन वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी नागार्जुन कन्स्ट्रक्सनसँग रु २१ करोड २६ लाख ५३ हजारमा ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौता भएको सात वर्ष बित्दा पनि सडकको नौ किलोमिटर सडकखण्ड मात्रै कालोपत्र भएको छ । हालसम्म सडक निर्माणका लागि चारपटक म्याद थप हुँदासमेत निर्माणले पूर्णता पाउन सकेको छैन ।
कञ्चनपुरबाट डडेल्धुरालगायत सुदूरपश्चिमका पहाडी जिल्ला जान दूरीका हिसाबले नजिकपर्ने उक्त सडक निर्माण नहुँदा यहाँका स्थानीयले सास्ती खेप्नुपरेको छ । उक्त सडक निर्माण नहुँदा डडेल्धुराको भित्री मधेसका स्थानीयले धनगढीको अत्तरिया भएर घुमाउरो बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ ।
“डडेल्धुरा र कञ्चनपुर जोड्ने यो छोटो दूरीको सडक नबन्दा हामीले घुमाउरो बाटो भएर आवतजावत गर्नुपर्ने बाध्यता छ”, डडेल्धुराको जोगबुढाका रामबहादुर बुढामगरले भन्नुभयो, “यो सडक निर्माण नहुँदा हामीले धेरै दुःख खेप्नुपरेको छ ।”
उहाँले सडक नहुँदा जोगबुढा र पर्शुराम क्षेत्रको उत्पादन बिक्रीका लागि पनि समस्या हुने गरेको बताउनुभयो । “सडक भइदिएको भए यहाँ उत्पादन भएका दाल, तरकारी महेन्द्रनगर बजार लगेर बिक्री गर्न सहज हुन्थ्यो”, उहाँले भन्नुभयो, “सडक निर्माण भइदिए यहाँ धेरैले रोजगार पाउने थिए ।”
सडक निर्माणमा सरोकारवाला निकायले चासो नदेखाउँदा चुरे पहाडमा सडक किनारामा निर्माण गरिएका नालीसमेत पुरिन लागेको स्थानीय नरेश जोशीले बताउनुभयो । “बनेका पर्खाल र नाली जीर्ण हुदै गएका छन्”, जोशीले भन्नुभयो, “वर्षात्मा हरेक वर्ष सडमा क्षति हुने गरेको छ ।”
डडेल्धुराको आधा जनसङ्ख्या भएको भित्री मधेसलाई कञ्चनपुरसँग यो छोटो दूरीको सडक भीमदत्त राजमार्गको विकल्पकारुपमा रहेको छ । पूर्वाधार विकास कार्यालय कञ्चनपुरले भने सडक निर्माणमा ढिलाइ भएको जनाएको छ । कार्यालयका सूचना अधिकारी आन संह डाँगाले तीन वर्षमा सम्पन्न गरिसक्नुपर्ने सडक हालसम्म पनि पूरा नभएको बताउनुभयो ।
“हरेक वर्ष वर्षात्मा बाढीले क्षति गर्ने गरेको छ, यसका कारणले पनि समस्या भएको छ”, उहाँले भन्नुभयो, “हालसम्म चार पटक म्याद थप भइसकेको छ, अहिले पनि म्याद थपको प्रक्रियमा छ ।” उहाँका अनुसार निर्माण व्यवसायीले रु १८ करोड ३६ लाख रकम भुक्तानी पाइसकेको छ । कञ्चनपुरको महेन्द्रनगर, अत्तरिया हुँदै डडेल्धुरा पुग्न एक सय ६५ किमी दूरी पार गर्नुपर्छ भने महेन्द्रनगरबाट दैजी–जोगबुढा हुँदै त्यहाँ ६५ किमी पार गरेपछि पुगिन्छ ।
११ जेठ २०८१, शुक्रवार १५:२३ बजे प्रकाशित