सुधारगृहमा कुटपिट गरेर युवकको हत्या गरेको खुलासा, १६ जना पक्राउ
धनगढी । कैलालीको घोडाघोडी नगरपालिका–४ को नयाँ बाटो पुनःस्थापना केन्द्रमा छतबाट हाम फालेर मृत भेटिएका भनिएका युवकको हत्या गरेको खुलेको छ ।
इलाका प्रहरी कार्यालय सुखडले गरेको प्रारम्भिक अनुसन्धानका क्रममा २५ वर्षीय युवक सुनिल शाहीको पुनःस्थापना केन्द्रमै कुटपिटपछि मृत्यु भएको खुलेको हो ।
शाहीको कुटपिट गरि हत्या गरेको पाइएपछि इलाका प्रहरी कार्यालयले सञ्चालक, अध्यक्ष र पुनःस्थापना केन्द्रमा आश्रीतसहित सहित १६ जनाविरुद्ध कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता गरेको छ ।
इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) दिपेन्द्रकुमार पालले मृतकका परिवारले दिएको किटानी जाहेरी दर्ता गरि अनुसन्धान अघि बढाइएको जानकारी दिए ।
उनकाअनुसार पुनःस्थापना केन्द्रका सञ्चालक बल खत्री, रोशन ऐर, सञ्चालक समिति अध्यक्ष होम तामाङसहित १७ जनाविरुद्ध मुद्दा दर्ता गरिएको हो । उनीहरूमध्ये १६ जनालाई प्रहरीले नियन्त्रणमा लिएपनि सञ्चालक रोशन ऐर भने फरार रहेको प्रहरीले जनाएको छ ।
प्रारम्भीक अनुसन्धानका क्रममा शाहीले मंगलबार दिउँसो पुनःस्थापना केन्द्रबाट भाग्न खोजेपछि केन्द्रमा रहेका आश्रीतहरूले पालैपालो कुटपिट गरेका थिए ।
राति करीब २ बजेको समयमा शाहीको मृत्यु भइसकेपनि प्रहरीलाई भने ढिलो गरि खबर गरिएको थियो ।
२७ वैशाख २०८१, बिहीवार २०:४९ बजे प्रकाशित













