punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बाजुरामा निःशुल्क उपलब्ध गराइने रेबिजविरुद्धको खोप अभाव

Chaupati
safha napa

बाजुरा । सरकारले निःशुल्करुपमा उपलब्ध गराउँदै आएको रेबिजविरुद्धको खोप अभाव भएको छ । जङ्गली जनावर र घरपालुवा जनवारले टोकेपछि लगाउनुपर्ने रेबिजको खोप अभाव भएको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।

रेबिजविरुद्धको खोप लगाउन आउनेको सङ्ख्या बढ्दै गएको भए पनि जिल्ला अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा समेत उक्त खोपको अभाव रहेको स्वास्थ्य कार्यालय बाजुराका प्रमुख महेश चन्दले बताउनुभएको छ ।

जथाभावी रुपमा छोडिएका कुकुर र जङ्गली जनावर स्याललगायतका जनावरले टोकेका बिरामी रेबिजको ओप लगाउन आउने गरेका भए पनि खोप नभएपछि अन्य जिल्लामा पठाउनुपरेको स्वास्थ्य कार्यालय बाजुराका प्रमुख जनस्वास्थ्य अधिकृत चन्दले राससलाई बताउनुभएको छ ।

जिल्लामा रहेका जिल्ला अस्पताल बाजुरा, टाँटे स्वास्थ्य चौकी कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा उक्त खोप नभएको पाइएको छ । खोप अभावका कारण बिरामीले लगाउनुुपर्ने समय खोप पाउन सकेका छैनन् । “रेबिजविरुद्धको खोप लगाउन लक्षित वर्ग नहुने र लक्ष्य पनि नहुने भएकाले खोपमा समस्या भएको जनस्वास्थ्य अधिकृत चन्दले भन्नुभयो ।”

अन्य खोपको लक्ष्यअनुसार खोप खरिद हुने भए पनि रेबिजको कुनै तार्गेट नहुने भएकाले खरिद गर्दा समस्या हुने गरेको हो । रेबिजको खोप लगाउन कहिले आउने कहिले नआउने भएकाले एक मिलिलिटरको खोप भाइल पाँचजनालाई लगाउनुपर्ने हुँदा एक जना मात्र आएमा चार डोज खोप खेर जाने भएकाले रेबिजविरुद्ध लगाइने खोप अभाव हुने गरेको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।

यस्तै पूर्वी उत्तरी भेगको कोल्टीमा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा छिमेकी जिल्लाबाट पनि रेबिजविरुद्धको खोप लगाउन आउन थालेकाले उक्त स्वास्थ्य केन्द्रमा खोप नभएको स्वास्थ्यकर्मीले बताएका छन् । कोल्टीमा कर्णाली प्रदेशका हुम्ला, मुगु र कालीकोटलगायतको सेवा केन्द्र बनेको स्वास्थ्य केन्द्र कोल्टीमा रेबिजविरुद्ध लगाइने खोपको अभाव भएको हो । स्वास्थ्य केन्द्र कोल्टीमा एक सातादेखि खोपको अभाव भएको स्वास्थ्यकर्मीले बताएका छन् ।

घरपालुवा जनावरले टोकेर स्वास्थ्य केन्द्रसम्म पुग्ने गरेका सेवाग्राही खोप नपाएर फर्किनुपरेको गुनासो सुनाउने गरेका छन् । वैशाख पहिलो हप्तामात्र घर पालुवा जनावर बिरालोले टोकेर मुगुको खत्याड गाउँपालिका–९ नखर्जीकी देवु शाही स्वास्थ्य केन्द्र पुग्नुभयो । उहाँले स्वास्थ्य केन्द्र पुग्दा दुई वटा मात्रा खोप लगाउनुभयो । पहिलो मात्रा खोप वैशाख ७ र दोस्रो मात्रा १० गते लगाउनुभएको हो । बाँकी एक मात्रा लगाउनका लागि शुक्रबार स्वास्थ्य केन्द्र पुग्दा उहाँले खोप लगाउन नपाएको गुनासो गर्नुभएको छ ।

गते बारसम्म स्मरण गर्न नसक्ने ५० वर्षीया देवु स्वास्थ्य केन्द्र पुग्दा तेस्रो मात्रा खोप नपाएको बताउनुहुन्छ । बिरालोले टोकेको वैशाख १ वा २ गते बताउने उहाँलाई खोपको बारेमा खास्सै जानकारी छैन । स्वास्थ्यकर्मीले जनावरले टोकेमा रेबिजविरुद्ध खोपको तीन मात्रा लगाउनुपर्ने बताउने गरेका छन् । उहाँले स्वास्थ्य केन्द्रमा मात्र नभई अन्य मेडिकलमा समेत रेबिजविरुद्धको खोप अभाव रहेकाले लगाउन नपाएको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीका डाक्टर प्रतीक न्यौपाने बताउनुभएको छ ।

रेबिजविरुद्धको खोप जनावरले टोकेको सात दिनभित्र लगाइसक्नुपर्ने भए पनि स्वास्थ्य केन्द्रमा अभाव छ । स्वास्थ्य कार्यालय बाजुराका प्रमुख जनस्वास्थ्य अधिकृत चन्दका अनुसार रेबिजविरुद्धको खोप खरिदका लागि प्रदेशसँग माग गरेको बताउनुभयो । खोप खरिदका लागि प्रदेशले पनि केन्द्रमा माग गरेको र वैशाख मसान्तभित्र रेबिजविरुद्धको खोप जिल्लामा आइपुग्ने जनस्वास्थ्य अधिकृत चन्दको भनाइ रहेको छ ।

स्थानीय तहका स्वास्थ्य शाखाले पनि खोप खरिदका लागि आवश्यक बजेटको व्यवस्था नहुँदा खोप खरिद र औषधि खरिदमा समस्या भएको छ ।


१७ वैशाख २०८१, सोमवार १०:१५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु