बझाङ र इलाममा गणनाका लागि सर्वदलीय बैठक बस्दै
धनगढी । बझाङ र इलाममा शनिबार भएको मतदानको गणनाका लागि आज सर्वदलीय बैठक बस्दैछ ।
बझाङ १ मा प्रदेशसभा सदस्यका लागि भएको उपनिर्वाचनमा झन्डै ५० प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन अधिकारी मानबहादुर धामीकाअनुसार साइपाल गाउँपालिकाबाहेकका अन्य ९० वटा केन्द्रका मतपेटिका सदरमुकाममा सङ्कलन गरिएको छ ।
साइपालको काँडा धुली र याराङकुरिङ डाँडा केन्द्रको मतपेटिका आज बिहान हेलिकोप्टरमार्फत ढुवानी गरिँदैछ । सबै मतपेटिका सदरमुकाम पुगिसकेपछि सर्वदलिय बैठक बसेर दिउँसोदेखि गणना शुरु गर्ने तयारी छ ।
बझाङ १ क मा ११ जना उम्मेदवार प्रतिस्पर्धामा छन । कांग्रेसबाट निर्वाचित प्रदेशसभा सदस्य पृथ्वीबहादुर सिंहको निधन भएपछि हिजो उपचुनाव भएको हो । त्यहाँ कांग्रेसबाट सिंहका छोरा अभिषेक सिंह, एमालेका दमन भण्डारी, माओवादी केन्द्रका जनक बुढा, एकीकृत समाजवादीका दिलबहादुर सिंहलगायत प्रतिस्पर्धामा छन् ।
यस्तै इलामको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ को मतगणना गर्नका लागि अहिले बिहान सर्वदलीय बैठक बस्दैछ । मतपेटिका शनिबारराति अबेर मात्र सङ्कलन गरेर सदमुकामको मतगणनास्थल ल्याइएको छ ।
इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले सबै राजनीतिक दल र उम्मेदवारसहित सरोकारवालालाई सर्वदलीय बैठकका लागि बोलाइएको जानकारी दिए ।
इलाम–२ मा राजनीतिक दलका र स्वतन्त्र गरी १९ जना उम्मेदवार प्रतिस्पर्धामा छन । यहाँ ६० प्रतिशत मत खसेको छ ।
एमाले नेता तथा सांसद सुवासचन्द्र नेम्वाङको निधन भएपछि इलाम–२ मा उपचुनाव भएको हो । यहाँ उनका छोरा सुहाङलाई एमालेले उम्मेदवार बनाएको छ भने कांग्रेसबाट डम्बर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिलन लिम्बूसहित १२ दल तथा पहिचान पक्षधर उम्मेदवार डकेन्द्रसिंह थेगिम गरी सात स्वतन्त्र उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।
१६ वैशाख २०८१, आइतवार ०८:५८ बजे प्रकाशित































