नेत्री देउवाको नाम लिएको आवाज सन्देश शर्माको भएको पुष्टि
नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसकी नेतृ एवं प्रतिनिधि सभा सदस्य डा. आरजु राणा देउवालाई विवादमा तान्ने गरी सार्वजनिक गरिएको अडियो सन्देश शर्माको भएको पुष्टि भएको छ।
डा. देउवाले त्यस सम्बन्धमा अनुसन्धान के भइरहेको छ भन्दै नेपाल प्रहरी प्रधान कार्यालयमा प्रगति माग गर्नुभएपछि प्रहरीले दिएको पत्रमा आवाज सन्देश शर्माको भएको कुरा उल्लेख गरिएको छ।
उहाँसँग जोडिएको आवाज सामाजिक सञ्जालमार्फत् सार्वजनिक भएपछि छानबिनका लागि नेत्री देउवाले नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटीमा वैशाख २७ गते उजुरी दर्ता गराउनुभएको थियो।
नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले हस्ताक्षर गर्नुभएको ‘उजुरी छानबिनको प्रगतिको जानकारी सम्बन्धमा’ शीर्षकको पत्रमा अनुसन्धानको पछिल्लो प्रगति विवरण उल्लेख गरिएको छ।
जसमा जिल्ला प्रहरी कार्यालय टेकुमा ठगी तथा संगठित अपराध कसुर मुद्दाको अनुसन्धानमा रहेका दाङको तुलसीपुर उपमहानगरपालिका१६ घर भएका ३४ वर्षीय सन्देश शर्माको ‘कन्ट्रोल सेम्पल’सँग मेल खाएको उल्लेख छ।
२४ असार २०८०, आइतवार १७:०५ बजे प्रकाशित































