राष्ट्रपति रामचन्द्र पौडेलले गरे नागरिकता विधेयक प्रमाणीकरण
राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका छन् । गत असोजमा तत्कालीन प्रतिनिधि सभाले पारित गरेको नागरिकता विधेयक तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेकी थिइनन् । राष्ट्रपति पौडेलले बुधवार नागरिकता विधेयक प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले विज्ञप्ति मार्फत जानकारी दिइन् ।
संघीय संसदको दुवै सदनबाट पारित नागरिकता विधेयक २०७९ साउन १६ गते प्रमाणीकरणको लागि पठाइएकोमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित फिर्ता पठाएकी थिइन् ।पछि प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट हुबहु पारित गरेर भदौ २० गते पुनः प्रमाणीकरणका लागि पठाइएको थियो ।
प्रमाणीकरण गर्नुपर्ने १५ दिनको अवधीमा प्रनिनिधि सभाको कार्यकाल सकिएको भन्दै प्रमाणीकरण भएको थिएन । नागरिकता विधेयक प्रमाणीकरण गर्न सरकारले आग्रह गरेपछि राष्ट्रपति पौडेलले कानूनी परामर्श गरेका थिए ।
नागरिकतासम्बन्धी समस्यालाई हल गर्नको लागि भन्दै केपी ओली नेतृत्वको सरकारको पालमा सरकारले संसदमा विधेयक दर्ता गरेको थियो । तत्कालीन प्रतिनिधि सभाको राज्य व्यवस्था समितिमा लामो छलफल भइ पारित भएपछि सरकारले सो विधेयक फिर्ता गरेर नयाँ ल्याएको थियो ।
संसदीय समितिमा पर्याप्त छलफल नगरी विधेयक पारित गरिएको भन्दै एमालेले विरोध जनाएको थियो ।
१७ जेठ २०८०, बुधवार १६:०३ बजे प्रकाशित













