पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ
पाकिस्तानका पूर्वप्रधानन्त्री इमरान खान पक्राउ परेका छन् । पाकिस्तानी सञ्चारमाध्यमका अनुसार आज उच्च अदालत बाहिरबाट प्यारामिलिटरी फोर्सले उनलाई पक्राउ गरेको हो ।
उनलाई त्यहाँको प्यारामिलिटरी फोर्सले भ्रष्टाचार मुद्दामा पक्राउ गरेको रोयटर्सले उल्लेख गरेको छ ।
इस्लामावादको हाइ कोर्टमा उनीविरुद्धको भ्रष्टाचार मुद्दाको सुनुवाइमा उपस्थित हुने क्रममा अदालतको गेटबाट खानलाई अचानक उक्त फोर्सले पक्राउ गरेको प्रत्यक्षदर्शीले जनाएको रोयटर्सले लेखेको छ ।
खानले भने आफूमाथिको भ्रष्टाचार आरोपलाई राजनीतिक रुपमा प्रेरित भएको भन्दै अस्वीकार गर्दै आएका थिए ।
गतवर्ष अप्रील प्रधानमन्त्रीको रुपमा विश्वासको मत नपाएपछि सरकारबाट बाहिरिएका खान आगामी निर्वाचनका क्याम्पेनमा अघि बढिरहेका थिए ।
खान २ वटा मुद्दामा जमानतका लागि उच्च अदालत पुगेका थिए । हालै इमरानले इन्टेलिजेन्सका शीर्ष अधिकारीहरूलाई वजिरावादमा उनको हत्या गर्ने षड्यन्त्र गरेको आरोप लगाएका थिए ।
पाकिस्तानी सेनाले यी आरोपको खण्डन गरेको छ । यसपछि इमरानले आज एक भिडियो सार्वजनिक गर्दै फेरि आरोप दोहोर्याएका थिए । उक्त भिडिओ सार्वजनिक गरेको ४ घण्टा पस्स्चात उनलाई पक्राउ गरिएको हो ।
२६ वैशाख २०८०, मंगलवार १७:१९ बजे प्रकाशित































