काम विहीन बन्यो सुदूरपश्चिम प्रदेश सभा : ५० दिन देखी बैठक नबसेपछि जम्बो टोली कर्णाली र लुम्बिनीको निरीक्षणमा
सुदूरपश्चिम प्रदेश सभा कामविहीन बनेको छ । प्रदेश सरकारले बिजनेस नदिँदा प्रदेश सभा कामविहीन भएको हो ।
फागुन २१ गते मुख्यमन्त्री कमल बहादुर शाहले विश्वासको लिन प्रदेश सभाको बैठक आह्वान गरिएको थियो । त्यसपछि झन्डै २ महिना हुनै लाग्दा पनि प्रदेश सभाको बैठक बस्न सकेको छैन ।
प्रदेश सभाको बैठक नबस्दा सभामुख, उपसभामुख र प्रदेश सभा सदस्यहरू मात्रै होइन प्रदेश सभा सचिवालयका कर्मचारीहरू पनि फुर्सदिला भएका छन् । पछिल्लो ५० दिन देखी प्रदेश सभाको बैठक बस्न सकेको छैन । अझै केही दिन प्रदेश सभाको बैठक बस्ने तयारी देखिएको छैन ।
प्रदेश सभा बिजनेसविहीन भएको मैका छोपी सुदूरपश्चिम प्रदेशका सभामुख भीम भण्डारी, उपसभामुख कोइली देवी चौधरी सहितका प्रदेश सभा सचिवालयका कर्मचारीहरू कर्णाली र लुम्बिनी प्रदेश सभाको निरीक्षणमा गरिरहेका छन् ।
६ गते सुदूरपश्चिम प्रदेश सभामा ४ सवारी साधन लिएर १९ जनाको टोली दुई प्रदेश सभाको निरीक्षणमा निस्किए हो । यस अघि यसरी अन्य प्रदेश सभाको निरीक्षण गर्ने कुनै पनि कार्यक्रम प्रदेश सभा सचिवालय वा प्रदेश सभाले बनाएको थिएन । तर, काम विहीन भएपछि उनीहरु नजिकका प्रदेश सभाको निरीक्षणमा निस्किएका हुन् ।
‘अहिले बिजनेस छैन एउटा संशोधन मात्रै दर्ता भएको छ’ प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले भने, ‘आज कर्णाली प्रदेशको निरीक्षण सकियो अब लुम्बिनी प्रदेशको अवलोकनका लागि प्रस्थान गर्दै छौँ ।’
सभामुख भीम भण्डारीले भने अन्तर प्रदेश अनुगमनको नियमित कार्यक्रम अन्तर्गत आफूहरू भ्रमणमा निस्किएको बताए ।
‘यो नियमित कार्यक्रम हो’, उनले भने, ‘कर्णालीमा कोसी प्रदेश सभामा पदाधिकारीहरूसँग पनि भेट भयो । भोली लुम्बिनीको अनुगमन सकेर हामी फकिन्छौँ ।’
सभामुख भीम बहादुर थापा उपसभामुख कोइली देवी चौधरी, प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटी र उपसचिव देवेन्द्र राज काफ्लेले प्रयोग गर्दै आइरहेको सवारीमा उनीहरुको जम्बो टोली कर्णाली र लुम्बिनी प्रदेश सभाको निरीक्षणमा निस्किएको हो ।
१० वैशाख २०८०, आइतवार १६:४० बजे प्रकाशित































