सुदूरपश्चिममा लगानी गर्न निजी क्षेत्रलाई मुख्यमन्त्रीको आग्रह
मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिम प्रदेशमा लगानी गर्न निजी क्षेत्रलाई आग्रह गरेका छन् । उद्योग वाणिज्य महासङ्घ सुदूरपश्चिमको छैटौँ प्रदेश सभाको शनिबार धनगढीमा उद्घाटन गर्दै उनले लगानीका लागि निजी क्षेत्रलाई आग्रह गरेका हुन्। ‘‘तपाईँहरू आउनुहोस्। सुदूरपश्चिम प्रदेशमा लगानी गर्नुहोस्’’, उनले भने, ‘प्रदेश सरकारले कहाँनेर के सहयोग गर्नुपर्छ, त्यसको लागि हामी तयार छौँ।’’
उनले सुदूरपश्चिमको आर्थिक स्तर उकास्ने र प्रदेशलाई समृद्धितिर लैजाने कार्यमा निजी क्षेत्रको महत्त्वपूर्ण भूमिका रहेको बताए। प्रदेशमा रहेको सम्भावनाको पहिचान निजी क्षेत्रले गरेकाले हातेमालो गरेर अगाडि बढ्न मुख्यमन्त्री शाहको आग्रह थियो। ‘‘निजी क्षेत्रलाई प्रदेश सरकारले के सहयोग गर्नुपर्छ, त्यो हामी गर्छौ’’, उनले भने ।
विश्वभर नै आर्थिक मन्दी भइरहेको बेला प्रदेशमा रहेको साधन, स्रोत सदुपयोग गर्न सुदूरपश्चिम प्रदेश सरकार तत्पर रहेको मुख्यमन्त्रीको भनाइ थियो।
अहिलेसम्म भएको कमी कमजोरीबाट पाठ सिक्दै अगाडि बढ्न आवश्यक रहेको मुख्यमन्त्री शाहले बताए।
एउटा नीति बनाएर अगाडि बढेमा असम्भव भन्ने केही नरहेको मुख्यमन्त्री शाहले बताए। सुदूरपश्चिमलाई केही न केही दिनुपर्छ भन्ने मानसिकताका साथ आफू अगाडि बढिरहेको उल्लेख गर्दै उनले निजी क्षेत्रले साथ त्यो सम्भव हुने उल्लेख गरे । प्रदेश सभा उद्घाटन कार्यक्रममा उद्योगी, व्यवसायीहरूको उपस्थिति रहेको थियो।
११ चैत २०७९, शनिवार १७:३२ बजे प्रकाशित





























