नेपाललाई विश्वकपमा पुर्याउने बैतडीका क्रिकेटर बोहरा सम्मानित
नेपाली क्रिकेट टोलीलाई विश्वकपमा पुर्याउन सफल क्रिकेटर दीपक बोहरालाई गृहजिल्लामा सम्मान गरिएको छ। हालै युएईमा सम्पन्न एसिया छनौटमा अपराजित रहँदै च्याम्पियन बनेको नेपाल सन् २०२४ मा हुने आईसीसी यू–१९ विश्वकप क्रिकेटका लागि छनौट भएको थियो।
उक्त नेपाली टोलीका सदस्य बोहरा पनि रहेका थिए। छनौट प्रतियोगितामा सहभागी भएर पहिलोपटक गृहजिल्ला बैतडी पुगेका दीपकलाई सम्मान गरिएको हो।
बोहरालाई बैतडीस्थित निंग्लाशैनी ग्वाल्लेक क्रिकेट एकेडेमी तथा निंग्लाशैनी क्रिकेट क्लब, देहिमाडौंले सम्मान गरेको हो। उनी उक्त एकेडेमी तथा क्लबमा आबद्ध छन्।
राम्रो प्रदर्शन गर्दै राष्ट्रिय टोलीमा प्रतिनिधित्व गर्दै विश्वकपमा पुर्याउन योगदान गरेको भन्दै सम्मान गरिएको निंग्लाशैनी ग्वाल्लेक क्रिकेट एकेडेमीका अध्यक्ष दीपेन्द्रबहादुर बोहराले जानकारी दिए। दीपकलाई खादा,अवीर र प्रमाणपत्रसहित सम्मान गरिएको हो। सम्मान कार्यक्रममा बैतडी जिल्ला क्रिकेट संघका पूर्वअध्यक्ष रमेशबहादुर बोहरा, निंग्लाशैनी क्रिकेट क्लबका कोषाध्यक्ष डीलाइट बोहरा, निंग्लाशैनी मन्दिरका भण्डारी चक्रबहादुर बोहरालगायत उपस्थित थिए।
युएईमा बोहराले ३ खेल खेलेका थिए। पहिलो खेलमा सिंगापुरविरुद्ध १७, दोस्रोमा कुवेतविरुद्ध १९ रन र तेस्रोमा हङकङसँगको खेलमा ब्याटिङमा पालो पुगेको थिएन।
१८ वर्षीय बोहरा दशरथचन्द नगरपालिका–२ देहिमाडौंमा जन्मिएका थिए। सानैदेखि क्रिकेटमा रुचि राख्ने बोहरा धुले मैदानबाट क्रिकेट खेल्न शुरु गरेका थिए। बोहरा मध्यक्रमका ब्याटर हुन्। उनी लामो सट हिर्काउन रुचाउँछन्।
नेपालले २०१६ को विश्वकपपछि पहिलोपटक विश्वकपमा स्थान बनाएको हो।
२७ फागुन २०७९, शनिवार २०:५६ बजे प्रकाशित































