कञ्चनपुरमा डेढ दशकपछि स्ववियू निर्वाचन हुँदै, क्याम्पस प्रशासन तयार नदेखिएको आरोप
कञ्चनपुरमा डेढ दशकमा स्वतन्त्र विद्यार्थीको निर्वाचन हुँदै छ। यसअघि ०६४ सालमा स्ववियु निर्वाचत भएको थियो, त्यसयता विभिन्न मितिमा स्ववियुको निर्वाचनको मिति तोकिँदै सर्दै आएको थियो।
यसपटक स्ववियु निर्वाचन हुने विद्यार्थी संगठन र विश्वविद्यालय प्रशासनका तर्फबाट माहोल बन्दै गएको छ। तर, कञ्चनपुरका विद्यार्थी संगठनले क्याम्पस प्रशासन स्ववियु निर्वाचनका लागि तयार नदेखिएको आरोप लगाएका छन्।
सोमबार कञ्चनपुरका पाँच विद्यार्थी संगठनको बैठकले निर्वाचन हुने क्याम्पस प्रशासनले तदारुकता नदेखाएको निष्कर्ष निकालेका छन्। अखिल क्रान्तिकारी कञ्चनपुरका संयोजक भुवनसिंह विष्टले स्ववियु निर्वाचनबारे जिल्लाका पाँच संगठनको बैठक बसेको बताए।
क्रान्तिकारी जिल्ला संयोजक विष्टले नेविसंघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी, समाजवादी अनेरास्वयु र राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको संयुक्त बैठकले निर्वाचन हुने क्याम्पस प्रशासनले चुनावबारे तदारुकता नदेखाएको निष्कर्ष निकालेको बताए।
‘क्याम्पस प्रशासनले चुनावका लागि तदारुकता नदेखाएकोप्रति हामी पाँच विद्यार्थी संगठनले ध्यानाकर्षण गरेका छौँ,’ ‘उनले भने, ‘स्ववियु निर्वाचनको कार्यतालिकाअनुरूप स्वच्छ, निष्पक्ष र धाँधलीरहित चुनाव गराउन हामीले माग अघि सारेका छौँ।’
त्रिवि, संस्कृत र सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय, आंगिक एवं सम्बन्धनप्राप्त क्याम्पस प्रशासनले निर्वाचनका लागि तयारी निरन्तर भइरहेको जनाएका छन्।
नेविसंघ कञ्चनपुरका अध्यक्ष रमेश चटौत, अनेरास्ववियु जिल्ला अध्यक्ष कमल रोकाया, अखिल क्रान्तिकारी जिल्ला संयोजक भुवनसिंह विष्ट, समाजवादी अनेरास्ववियुका संयोजक प्रज्वल कुँवर र प्रजातान्त्रिक विद्यार्थी संगठनका अध्यक्ष मनीष पालद्वारा हस्ताक्षरित गरिएको निर्णय पुस्तिकामा आगामी चैतमा हुने स्ववियु निर्वाचन भव्य, सभ्य र सौहार्दपूर्ण वातावरणमा सम्पन्न गर्न प्रतिबद्ध रहने जनाएका छन्।
२३ फागुन २०७९, मंगलवार १२:३२ बजे प्रकाशित






























