शाह सरकारलाई विश्वासको मत दिने बिषयमा माओवादीमा दुई धार, ठोस निर्णय भोली हुने
कैलाली । कांग्रेस नेतृत्वको सरकारलाई विश्वासको मत दिने बिषयमा माओवादी केन्द्रमा विवाद देखिएको छ । सुदूरपश्चिम प्रदेशमा माओवादी केन्द्रको संसदीय दलको बैठकमा सबै सांसद एकमत नहुँदा यस बिषयमा कुनै निर्णय हुन सकेन।
संसदीय दलका नेता खगराज भट्टले यथास्थितिमा विश्वासको मत दिन नसकिने र माओवादी केन्द्रको नेतृत्वमा सरकार बन्नु पर्ने बताएका थिए । तर, अन्य सांसदहरूले अहिले त्यो सम्भव नहुन सक्ने बताए ।
यहाँका मुख्यमन्त्री कमल शाहले भोली विश्वासको मत दिने तयारी गरेका छन् । अहिले सम्म माओवादीले विश्वासको मत दिने वा नदिने ठोस निर्णय गर्न सकेको छैन । यस बिषयमा बसेको संसदीय दलको बैठकमा पनि सांसदहरू दुई भागमा विभाजित भएपछि कुनै पनि निर्णय नभएको एक सांसदले बताए ।
‘अधिकांश सांसदहरूले सरकारको नेतृत्व माओवादीले गर्नु पर्नेमा जोड दिएका थिए । तर, त्यो सम्भव नभए पनि सम्मानजनक उपस्थिति हुनुपर्छ भन्ने हाम्रो माग हो’ ती सांसदले भने ‘यहि बिषयमा कुरा गर्न दलको नेता मुख्यमन्त्री कार्यालय जानु भएको छ ।’
मुख्यमन्त्रीसँगको संवाद पछि भोली बिहान निर्णय गर्ने ती सांसदको भनाइ छ । उनले भने, ‘अहिले नै विश्वासको मत नदिने भन्ने हामीले निर्णय गरेका छैनौँ । तर, पावरसेयरिङमा कुरा मिलेन भने भोली त्यो पनि नहोला भन्न सकिन्न ।’
माओवादीको पहिलो सर्त अहिले आफै मुख्यमन्त्री बन्ने नभए भौतिक पूर्वाधार विकास मन्त्रालय लगायत महत्त्वपूर्ण तीन मन्त्रालय दिनुपर्ने सर्त छ । अहिले मुख्यमन्त्री शाहसँगको छलफल पछि भोली के गर्ने भन्ने बिषयमा तयारी हुने ती सांसदले बताए ।
सङ्कटमा शाह सरकार
संसदीय दलको बैठकमा माओवादी भित्र अधिकांश सांसदले आफ्नै नेतृत्वमा सरकार बनाउने बिषयमा पहल गर्ने बताएपछि सुदूरपश्चिम सरकार सङ्कटमा परेको बताइन्छ । यस अघि आज नै नागरिक उन्मुक्ति पार्टीले पनि वर्तमान सरकारलाई सहमतिविना समर्थन गर्न नसक्ने बताइसकेको छ ।
सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति र माओवादी दुवैले विश्वासको मत नदिए कि एमालेको साथ लिनु पर्ने कि राजीनामा दिनु पर्ने दुई विकल्प छन् यहाँका मुख्यमन्त्रीसँग ।
संविधानको धारा १६८ को उपधार २ अनुसार बनेको सरकार माघ २६ मा ढलेपछि सोही दिन उपधार ३ अनुसार सबै भन्दा ठुलो दलको हैसियतले कांग्रेस संसदीय दलका नेता शाह मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनले पनि ३० दिन भित्र विश्वासको मत लिनु पर्ने हुन्छ । सोही अनुसार भोली विश्वासको मत लिँदै गरेका उनलाई कांग्रेसका १९ र नेकपा एकीकृत समाजवादीका ४ मत पाउने निश्चित छ । शाह सरकारलाई स्वतन्त्र जितेका डा। तारा जोशीले पनि विश्वासको मत दिने जनाएका छन् ।
तर, माओवादी र नागरिक उन्मुक्तिले भने अहिले सम्म विश्वासको मत दिने निर्णय गरेका छैनन् । यहाँ माओवादी केन्द्रका सभामुख सहित ११ र नागरिक उन्मुक्तिका ७ सांसद छन् ।
यी दुबै दलले दलले विश्वासको मत नदिने सम्भावना बढि रहेको स्रोतको दाबी छ । यता माओवादीका केही नेताहरू भने केन्द्रको निर्णय अनुसार प्रदेशमा अघि बढ्ने बताउँछन् ।
माओवादी केन्द्रका सांसद ओम विक्रम भाट सरलले सामाजिक सञ्जाल मार्फत आठ दलीय गठबन्धन भन्दा बाहिर माओवादी नजाने प्रस्ट पारेका छन् ।
‘आठ दलको सहमति अनुसार हामी अगाडि बढ्ने हो । आठ दलको सहमति बाहिर जाने हामी कल्पना समेत गर्न सक्दैनौँ । त्यस कारण आठ दलबिच हुने सहमति नै अन्तिम र निर्णायक हुन्छ । कागले कान लग्यो भनेर कागको पछि दुगुर्ने होइन आफ्नो कान छम्ने हो ।’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
२० फागुन २०७९, शनिवार १६:३४ बजे प्रकाशित































