कैलालीमा लाटोकोसेरो तथा हुचिल उत्सव

धनगढी — कैलालीको घोडाघोडी सिमसार क्षेत्रनजिकै पर्ने घोडाघोडी नगरपालिका–४ को माघी गाउँमा शुक्रबारदेखि नेपाल लाटोकोसेरो तथा हुचिल उत्सव सुरु भएको छ ।

शनिबारसम्म चल्ने उक्त उत्सव तथा मेलामा स्थानीय, विद्यार्थी र संरक्षणप्रेमीहरूका लागि लोप हुन लागेको लाटोकोसेरो पक्षीका बारेमा जानकारी प्राप्त हुने आयोजकले बताएका छन् ।

चरा संरक्षण नेटवर्क र प्रकृतिका साथीहरू संस्थाले उत्सव आयोजना गरेको हो ।

उनले लाटोकोसेरोको भारत, चीन र खाडी मुलुकमा अवैध कारोबार बढेकाले यसको संरक्षणको आवश्यकता विश्वव्यापी रूपमा भइरहेको औंल्याए । यस किसिमका उत्सव धादिङ, चितवन, नवलपरासी र गोरखामा भइसकेका छन ।

अन्तर्राष्ट्रियस्तरमा अमेरिका, इटाली र भारतमा समेत उत्सव हुँदै आएको उनले बताए । प्रकृतिका साथीहरू संस्थाले ४६ जिल्लामा गरेको यससम्बन्धी अध्ययनले नेपालमा वार्षिक २ हजार लाटोकोसेरो तथा हुचिल मारिने तथा विभिन्न मुलुकमा अवैध रूपमा पठाइने गरेको देखिएको छ । नेपालको कानुनी रूपमा लाटोकोसेरोलाई दुःख दिन, पाल्न र मार्न रोक लगाइएको जानकारी पनि स्थानीयलाई कम भएकोले उत्सवको आयोजना गरिएको डगौरा थारुले बताए ।

उत्सवमा चरा तथा प्रकृतिको अवलोकन, लाटोकोसेरो सम्वन्धि म्युजियम प्रदर्शनी, चित्र , फोटो र सूचनाहरूसंँगै स्थानीय आदीवासी जनजातीका लोपोन्मुख खेलहरू तथा सांस्कृतिक प्रदर्शनका कार्यक्रम राखिएको छ । उत्सवको अन्तिम दिन चार अनुसन्धानकर्मी र संरक्षणकर्मीहरूलाई दिइन लागेको प्रकृति संरक्षण पुरस्कार पनि वितरण गरिने बताइएको छ । यस वर्ष पुरस्कृत हुनेहरूमा गोविन्दबहादुर सिंह काठमाडौं, हेमबहादुर कटुवाल र कान्तिपुरकर्मी रमेशकुमार पौडेल र भारतीय वैज्ञानिक डा. सतिश पाण्डे छन् ।


२१ माघ २०७९, शनिवार ०९:३६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु