सांसद चौधरीसँगै धनगढी पुगेकी केन्द्रीय अध्यक्ष श्रेष्ठले भनिन् -सुनियोजित हो, रिहाइ हुनुपर्छ
कैलाली । नागरिक उन्मुक्ति पार्टीकी केन्द्रीय अध्यक्ष रन्जिता श्रेष्ठले सुनियोजित ढंगले सांसदलाई पक्राउ गरिएको आरोप लगाएकी छन् । पक्राउ परेका नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरीसँगै काठमाडौँबाट धनगढी पुगेकी अध्यक्ष श्रेष्ठले विमानस्थलमा सञ्चारकर्मीहरूसँग यस्तो बताएकी हुन् ।
‘उहाँ (अरुण चौधरी) लाई सुनियोजित ढङ्गबाट पक्राउ गरिएको छ’ उनले भनिन्, ‘९ बर्ष देखी फरार भनिएको छ । यो बिचमा उहाँले अन्य पार्टीबाट मेयर र प्रदेश सभाको निर्वाचन पनि लडिसक्नु भएको छ त्यो बेला फरार नहुने अहिले नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित भएर माननीय भइसकेपछि फरार भन्ने हुन्छ ?’
जन निर्वाचित माननीयलाई फरार सूचिमा राखेर पक्राउ गर्ने कुराले सरकारका बिषयमा सोच्न बाध्य बनाएको समेत श्रेष्ठले सञ्चारकर्मीहरूलाई प्रक्रिया दिएकी थिइन् ।
बाँकेमा प्रहरीले चौधरीलाई पक्राउ परे लगत्तै सम्पर्क हुन नसकेपछि उनले सांसद चौधरी सम्पर्कविहीन रहेको सामाजिक सञ्जालमा लेखेकी थिइन् । सम्पर्कमा आएपछि काठमाडौँ हुँदै धनगढी श्रेष्ठ पक्राउ परेका सांसद चौधरीसँगै आइन् ।
‘उहाँलाई फसाइएको हो भन्ने कुरा प्रस्ट छ’ उनले भनिन् ‘रिहा नहुँदा सम्म म उहाँसँगै हुन्छु।’
जिल्ला प्रहरी कार्यालयमा पनि श्रेष्ठ चौधरीसँगै पुगेकी थिइन् । जिल्ला अदालतमा पनि सँगै जाने उनले बताइन् ।
२०६६ भदौ ३ गते लु २ त २११ नम्बरको ट्याक्टर जलाएको भन्दै कैलाली जिल्ला अदालतमा अरुण चौधरी सहित तीन जनालाई २०७० वैशाख ९ गते छ महिना कैद र ८ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो ।
कैलाली जिल्ला अदालतले उनीहरु विरुद्ध फैसला हुनु भन्दा अघि नै सरकारले यी लगायतका घटनाको मुद्दा फिर्ता लिने सहमति गरिसकेको थियो । सरकारले मुद्दा फिर्ता लिइसकेको घटनालाई लिएर निर्वाचित सांसद पक्राउ परेको भन्दै नागरिक उन्मुक्तिले आन्दोलनको चेतावनी समेत दिएको छ ।
सांसद चौधरीलाई २४ घण्टा भित्र रिहा नगरे सशक्त आन्दोलन गर्ने नागरिक उन्मुक्ति पार्टीले विज्ञप्ति मार्फत जानकारी दिइसकेको छ ।
२० माघ २०७९, शुक्रवार ०७:२१ बजे प्रकाशित































