निर्मला हत्या प्रकरण : १२० जनाको डीएनए परीक्षण पछि के आयो निष्कर्ष ?
उपप्रधान एवं गृहमन्त्री नियुक्त भएपछि रवि लामिछानेले निर्मला पन्तको हत्याबारे न्यायिक छानबिन गर्ने पहिलो निर्णय गरे । गृहमन्त्रीको निर्णय अनुसार हत्या अनुसन्धानलाई प्रभावकारी बनाउन पुस १५ मा डीआईजी दुर्गा सिंहको नेतृत्वमा नयाँ समिति बन्यो । सिंह नेतृत्वको समिति कञ्चनपुरमा गएर स्थलगत अनुसन्धान गरेर फर्केको छ । समितिको निष्कर्ष छ–हत्या आरोपी पत्ता लाग्न डीएनए मिल्नुको विकल्प छैन ।
निर्मलाको हत्यापछि केन्द्रीय अनुसन्धान ब्यूरोका तत्कालीन डीएसपी अंगुर जिसी नेतृत्वको टिमले दिलिपसिंह विष्टलाई पक्राउ गरेको थियो । निर्मलाको ‘भजाइनल स्वाब’ सँग विष्टको डीएनए म्याच नभएपछि २०७५ भदौ २६ मा सरकारी वकिल कार्यालयले विष्टलाई साधारण तारेखमा छाड्ने निर्णय गरेको थियो ।
दिलिप सिंह छुटेपछि प्रहरीले अहिलेसम्म १२० जनाको रगतको स्याम्पल लिएर डीएनए परीक्षण गरेको छ । त्यसबारे प्रहरी प्रधान कार्यालयमा केन्द्रीय अनुसन्धान ब्यूरोका अनुसन्धान अधिकृतहरुले गृहमन्त्री रवि लामिछानेलाई ब्रिफिङ गरेका छन् ।
डीआईजी दुर्गा सिंह नेतृत्वको पछिल्लो समितिले डीएनए जाँच गर्न ५ जनाको रगतको स्याम्पल संकलन गरेको छ । तीमध्ये दुईजना भारतीय छन् जसमा निर्मलाको घर नजिकै तरकारी खेती गर्नेका छोरा मोहम्मद इस्लाम हुन् । तर भारतस्थित उनको गाउँमा एउटै नाम गरेका दुई जना रहेको पाइएपछि दुवै जनाको रगतको नमुना परीक्षण गरिएको प्रहरी स्रोतको भनाइ छ ।
तर, ती दुवैको डीएनएको रिपोर्ट ‘नेगेटिभ’ आएको छ । कञ्चनपुर घर भएका ३ जनाको नमुना प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा परीक्षण गरिएको छ । उनीहरुको रिपोर्ट आउन बाँकी छ ।
२०७५ साउनमा घटनास्थल आसपासमा भएकाहरुको नमुना संकलन गरिएको छ ।
परिस्थितिजन्य प्रमाण अनुसार वैज्ञानिक परीक्षणका लागि लिएका स्याम्पल निर्मलाको ‘भजाइनल स्वाब’ सँग मिल्नुपर्छ । ‘भजाइनल स्वाब’बाट विधि विज्ञान प्रयोगशालाले १६ वटा क्यारेक्टर डेभलप गरेको छ । ‘वाइ एसटीआर’ विधिबाट गरिएको सो परीक्षणबाट पुरुष वंश पत्ता लाग्छ ।
कञ्चनपुरको भीमदत्त नगरपालिकास्थित उल्टाखामकी निर्मला पन्तको १० साउन २०७५ मा बलात्कारपछि हत्या भयो । १३ वर्षीय निर्मलाको हत्यामा संलग्न व्यक्ति पत्ता लगाउन प्रहरीले अहिलेसम्म १२० जनाको डीएनए जाँच गरेको छ । तर, डीएनए म्याच नहुँदा अनुसन्धानको नतिजा शून्य छ ।
६ माघ २०७९, शुक्रवार ०६:४० बजे प्रकाशित































