कृष्णपुरमा ‘नागरिकसँग मेयर’ कार्यक्रम सुरु, घर- घर सम्म चिकित्सकको टोली परिचालन
कैलाली । कञ्चनपुरको कृष्णपुर नगरपालिकामा नागरिकसँग मेयर कार्यक्रम सुरु भएको छ ।
मंगलबार नगरप्रमुख हेमराज ओझाले वडा न ५ को पवित्रा बस्तीबाट नगर क्षेत्र भरिको लागि कार्यक्रमको सुरुवात गरेका हुन् । उक्त कार्यक्रममा वडा नम्बर ५ का वडाध्यक्ष पनि थिए । उता अन्य ८ वडामा सम्बन्धित वडाध्यक्षको उपस्थितिमा कार्यक्रम सुरु गरिएको हो ।

पहिलो चरणमा स्वास्थ्यकर्मीले सबै वडाका प्रत्येक नागरिकका घर घरमा पुगेर रक्तचाप चेकजाँच गर्ने, उनीहरुको स्वास्थ्य अवस्थाबारे रिपोर्ट लिने त्यसको आधारमा जटिल र सामान्यलाई वर्गीकरण गरेर दोस्रो चरणमा स्वास्थ्य शिविर सञ्चालन गर्ने योजना नगर प्रमुख ओझाले बनाएका हुन् ।
‘प्रत्येक नागरिकको स्वास्थ्य अवस्था बुझ्न स्वास्थ्यकर्मीको टोली घरदैलोमै पुग्छ’ उनले भने ‘निर्वाचनमै हामीले शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकता राखेर काम गर्ने भनेका थियौँ त्यो अनुरूप नै यो कार्यक्रम सुरुवात गरिएकोले हो । ’

नागरिकको स्वास्थ्य सबै भन्दा महत्त्वपूर्ण विषय भएकोले आफ्नो कार्यकाल भरी पहिलो प्राथमिकता स्वास्थ्यले नै रहने नगरप्रमुख ओझाले बताए ।
दक्ष जनशक्ति सहितको स्वास्थ्यकर्मीको टोली प्रत्येक नागरिकको घरमा पुग्ने भएकोले यो कार्यक्रम लाभदायी हुन अपेक्षा गरिएको कृष्णपुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख रतन सिंह बिष्टले बताए । सुरुवातमा नागरिकसँग मेयर कार्यक्रमका लागि १५ दिन छुटाइए पनि पछि आवश्यकता अनुसार केहि दिन थप्न सकिने बिस्ट बताउँछन् ।

हाल कृष्णपुर नगरपालिका वडा न ५ मा रहेको कृष्णपुर स्वास्थ्य चौकी चिकित्सक सहित चौबिसै घण्टा सञ्चालनमा रहेको छ । त्यसै गरी नगरपालिकाले सुत्केरी महिला,ज्येष्ठ नागरिक,शारीरिक रूपमा अशक्त नागरिक र आर्थिक हिसाबमा कमजोर बिरामीलाई नि शुक्ल एम्बुलेन्स सेवा दिदै आएको छ ।

३ माघ २०७९, मंगलवार २०:४० बजे प्रकाशित































