सुदूरपश्चिममा मातृभाषामा शपथ ग्रहण गर्ने ६ जना को- को हुन् ?
कैलाली । सुदूरपश्चिम प्रदेश सभामा निर्वाचित ६ जनाले स्थानीय भाषामा पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन्।
मङ्सिर १५ गते १ बजे प्रदेश प्रमुख देवराज जोशीले ज्येष्ठ सदस्य मानबहादुर रावललाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउने छन् । त्यसपछि रावलले अन्य ५२ जना प्रदेश सभा सदस्यहरुलाई शपथ ग्रहण गराउने कार्यक्रम तय भएको छ । यहाँ शपथ ग्रहण गर्ने ५२ जना मध्ये ६ जनाले मातृभाषामा शपथ ग्रहण गर्ने छन् ।
नागरिक उन्मुक्ति पार्टीबाट प्रत्यक्षतर्फ निर्वाचित पाँच र नेपाली कांग्रेसतर्फ समानुपातिक निर्वाचित एक गरी ६ जनाले स्थानीय भाषामा पद तथा गोपनीयताको शपथ लिने प्रदेश सभा सचिवालयका सचिव देवराज बोगटीले जानकारी दिए । उनीहरु ६ जनाले हिजो मातृभाषामा शपथ गर्ने विषयमा प्रदेश सभा सचिवालयमा जानकारी गराएका थिए ।
नागरिक उन्मुक्तिबाट कैलाली क्षेत्र नम्बर १ प्रदेश सभा १ बाट निर्वाचित कैलाश चौधरी, प्रदेश सभा २ का लक्ष्मण किशोर चौधरी, निर्वाचन क्षेत्र नम्बर २ प्रदेश सभा २ का रामेश्वर चौधरी, निर्वाचन क्षेत्र नम्बर ३ प्रदेश सभा १ का घनश्याम चौधरी र २ का खुसी राम डगौरा थारूले थारु भाषामा शपथ लिने छन् । त्यस्तै कांग्रेसकी समानुपातिक प्रदेश सभा सदस्य गीताकुमारी चौधरीले पनि थारु भाषामा शपथ लिने छिन् । उनी कञ्चनपुरकी हुन् ।
प्रदेश सभा सचिवालयले सूचना जारी गर्दै स्थानीय भाषामा शपथ लिन चाहनेलाई तीन दिनभित्र निवेदन दिन अनुरोध गरेको थियो।
१३ पुस २०७९, बुधवार ०७:२९ बजे प्रकाशित






























