सुदूरपश्चिममा गठबन्धनको सरकार, यी हुन् मुख्यमन्त्रीका लागि तीन दलका सम्भावित तीन नेता
कैलाली । सुदूरपश्चिम प्रदेश सरकार गठनको लागि गठबन्धनलाई सहज बहुमत पुगेको छ । सत्ता गठबन्धन भित्र रहेको नेपाली कांग्रेसले १९, माओवादी केन्द्रले ११ र नेकपा एकीकृत समाजवादीले ४ सिट पाएका छन् ।
कांग्रेसले प्रत्यक्षमा १२ र समानुपातिकमा ७ सिट पाएको हो । माओवादीले ८ प्रत्यक्ष जित्दा ३ समानुपातिक सिट सुरक्षित गरेको हो भने नेकपा एसले प्रत्यक्ष तर्फ ३ र समानुपातिक तर्फ १ सिट पाएको छ ।
२७ जना सांसद हुँदा सुदूरपश्चिममा बहुमत पुग्छ । तीन दल मिल्दा प्रदेश सभा सदस्यहरूको सङ्ख्या ३४ हुन्छ । सुदूरपश्चिम प्रदेश सभामा सत्ता गठबन्धन भन्दा बाहिर एमालेको १०, नागरिक उन्मुक्तिको ७ र राप्रपाको १ सिट छ ।
सत्ता गठबन्धनको सहज बहुमत देखिएको यो प्रदेशमा अहिले गठबन्धनकै सरकार बन्ने सम्भावना प्रबल छ ।
मुख्यमन्त्रीमा सबैको दाबी
सत्ता गठबन्धनको सरकार बन्ने करिब पक्का जस्तै हुँदा मुख्यमन्त्री भने कुन दलले पाउने भन्ने विषय पेचिलो छ । अहिले यहाँ कांग्रेस माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी सबैले मुख्यमन्त्रीको लागि दाबी गरिरहेका छन् ।
निर्वाचन भन्दा अघि नै प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री माओवादी केन्द्रको भागमा पर्ने घोषणा गरेका थिए । उनले पार्टी मात्रै घोषणा गरेनन् माओवादी केन्द्रबाट खगराज भट्ट मुख्यमन्त्री बन्ने समेत बताएका थिए । भट्ट र देउवाको निर्वाचन क्षेत्र डडेल्धुरा हो । प्रधानमन्त्री देउवाले डडेल्धुरामा आयोजित कार्यक्रममा भट्टलाई मुख्यमन्त्रीको रूपमा प्रस्तुत गर्दा कांग्रेस भित्रै अहिले त्यो विषयले महत्त्व पाएको छैन । कांग्रेसले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री आफ्नो पार्टीबाट हुने जनाएको छ ।
‘यस अघि माओवादीले पाँच वर्ष चलाइसकेको छ । अब प्रदेशको मुख्यमन्त्री काङ्ग्रेसबाट हुन्छ’ प्रदेश समितिका महामन्त्री मेघराज खड्काले भने ‘यहाँ कांग्रेसको नेतृत्वमा गठबन्धनको सरकार बन्छ ।’
कांग्रेस भित्र अहिले खड्का सहित करिब आधा दर्जन व्यक्ति मुख्यमन्त्रीको लबिङमा छन् । कञ्चनपुरबाट निर्वाचित बहादुर थापा र देवानसिंह विष्ट, कैलालीबाट निर्वाचित प्रकाश देउवा र कमल शाह अहिले मुख्यमन्त्रीको लबिङमा छन् । यी मध्ये प्रकाश देउवाको सम्भावना रहेको बताइन्छ ।
‘सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कांग्रेसले पाउँछ । यहाँको मुख्यमन्त्री प्रकाश देउवा बन्ने सम्भावना अधिक छ’ कांग्रेस उच्च स्रोतले भन्यो । प्रकाश देउवा शेरबहादुर देउवाको भतिज हुन् ।
यता माओवादी भने यस अघि शेरबहादुर देउवाले सार्वजनिक कार्यक्रममै माओवादीलाई मुख्यमन्त्री भनेपछि उत्साहित छ ।
‘यस विषयमा पहिले केन्द्रमा छलफल हुन्छ’ माओवादी प्रदेश इन्चार्ज समेत रहेका खगराज भट्ट भन्छन्, ‘प्रदेशको मुख्यमन्त्रीको विषय केन्द्रबाट टुङ्गिन्छ ।’ भट्ट माओवादी केन्द्रको तर्फबाट मुख्यमन्त्रीको सर्वसम्मत उम्मेदवार हुन् ।
यता नेकपा एकीकृत समाजवादीले पनि मुख्यमन्त्रीको दाबी छ । ‘हाम्रो दाबी मात्रै होइन सशक्त दाबी छ’ नेकपा एसका नेता दीर्घ सोडारीले भने ‘यस पटक सुदूरपश्चिम प्रदेशमा हाम्रो नेतृत्वमा सरकार बन्ने सम्भावना छ ।’
सोडारी अहिले प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्री हुन् । एमालेबाट १४ जना सांसदलाई सनाखत गराएर प्रदेशकै ठुलो दल बनाउने सोडारी पनि यस पटक मुख्यमन्त्रीको चर्चामा छन् ।
उनले भने, ‘अन्य प्रदेशमा यस अघि नै हाम्रो पार्टीको मुख्यमन्त्री भइसक्नु भएको छ उनले भने यहाँ यस पटक हामीले पाउनु पर्छ भन्नेमा हामीले पार्टी भित्र आवाज उठाइरहेका छौँ ।’
२३ मंसिर २०७९, शुक्रवार १३:३२ बजे प्रकाशित













