…….त्यसपछि भरतले आफ्नै प्रेमीकाको बीभत्स हत्या गरे
बैतडीको पञ्चेश्वर गाउँपालिका– ४ फ्याउलीकी माया लुहारका हत्या आरोपमा पक्राउ परेका सशस्त्र प्रहरी जवान भरतराम कोलीलाई प्रहरीले आज सार्वजनिक गरेको छ ।
कञ्चनपुर प्रहरीले आइतबार बिहान १० बजे महेन्द्रनगर बसपार्कबाट नियन्त्रणमा लिएर आइतबार राति नै बैतडी ल्याइएको हो । प्रारम्भिक अनुसन्धानबाट कोलीबाटै हत्या भएको खुल्न आएपछि जिल्ला प्रहरी कार्यालय बैतडीले पत्रकार सम्मेलन गरी उनलाई सार्वजनिक गरेको हो।
किन गरे हत्या ?
माया लुहार र भरतराम कोली प्रेम सम्बन्धमा थिए । तर, पछिल्ला दिन उनीहरु बिच खटपट सुरु भएको थियो । सशस्त्र प्रहरी बल नेपाल हूल तथा दङ्गा व्यवस्थापन शिक्षालय पोखरामा मङ्सिर ७ गते बिदामा आएका भरत ११ गते मायाको मोबाइल खोस्न पुग्छन् ।
म्यादी प्रहरी भएकी माया अरूसँग पनि प्रेममा रहेको हुन सक्ने भरतको आशङ्का हुन्छ । भरतले मायाको मोबाइल नियन्त्रणमा लिएर आफ्नै घर लग्छन् । २ दिन सम्म उनले मोबाइल राखेपछि १३ गते मोबाइल लिनका लागि मायालाई शिवनाथ ६ को नेपाल टेलिकमको टावर नजिकै बोलाउँछन् ।
मायाले १५ वर्षीया नेहा लुहारलाई पनि सँगै लग्छिन् । बिहान घरबाट लुगा सिलाउन भन्दै उनीहरु कुलाउ बजार पुग्छन् । घरबाट कुलाउ पुग्न करिब डेढ घण्टाको पैदल यात्रा गर्नुपर्छ। माया र नेहा नाताले फुपू–भदैनी हुन् । उनीहरु बिचको भेटघाट विवादमा परिणत हुन्छ । भरतले मायालाई अनेक लाञ्छना लगाउँछन् । विवाद बढ्दै जान्छ र आफूसँगै भएको चक्कु प्रहार गरी मायाको हत्या गर्छन् ।
मायाको हत्या गरिसकेपछि मायासँगै रहेकी नेहाले पनि घटनाबारे अन्यलाई जानकारी गराउने डरले नेहालाई पनि हत्या गर्ने प्रयासले घाँटीमा छुरा प्रहार गरेको र नेहाले भागेर ज्यान जोगाउन सफल भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख, प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिए । १३ गते लुगा सिलाउन भन्दै बजार गएकी माया र नेहा घर नफर्किएपछि अभिभावकले खोजी सुरु गरेका थिए ।
भोलिपल्ट १४ गते नेहा घाइते अवस्थामा भेटिइन् ।नेताकै सूचनाको आधारमा प्रहरीले मायाको शव फेला प¥यो । नेहाले सबै घटनाबारे मायाका परिवार र प्रहरीलाई बयान दिइन् । मृतक मायाका दाजु टिंकुराम लुहारले १५ गते भरतको नाममा किटानी जाहेरी दिएका थिए । घटना पछि फरार रहेका भरतलाई महेन्द्रनगरबाट प्रहरीले पक्राउ गरेपछि उनले घटनाबारे प्रहरीलाई थप बयान दिएका छन् ।
मुलुकी अपराध संहिता, २०७४को परिच्छेद १२ को दफा १७७(ज्यान मार्ने नियतले काम गर्न नहुने) र परिच्छेद १२ को १८३(ज्यान मार्ने उद्योग गर्न नहुने) मुद्धा शीर्षकमा सोमबार जिल्ला अदातलाट १० दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएका प्रहरीले जनाएको छ।
१९ मंसिर २०७९, सोमवार १७:४५ बजे प्रकाशित













