सुदूरपश्चिम प्रदेश सभा : दुई दल बाहिरिए, दुई थपिए

सुदूरपश्चिम प्रदेश सभाको पहिलो कार्यकालमा भाग लगेका दुई दल बाहिरिएका छन् भने २०७९ को चुनावबाट थप दुई दल भित्रिएका छन् ।​ सुदूरपश्चिम प्रदेश सभामा २०७४ को निर्वाचनमा सहभागी भएका जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीको यस पटक सहभागिता नरहने भएको छ । प्रदेशका ३२ प्रत्यक्ष निर्वाचन क्षेत्रमा दुई वटै पार्टीका कुनै पनि उम्मेदवारले जित हासिल गर्न सकेनन् भने समानुपातिक प्रणालीबाट पनि जसपा र लोसपाले थ्रेस होल्ड कटाउन सकेनन् । जसकारण २०७९ को निर्वाचनपछि जसपा र लोसपाको सहभागिता हुने छैन ।

२०७९ को निर्वाचनबाट सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टी र राप्रपा नयाँ दलका रूपमा प्रदेश सभामा उपस्थित हुने छन् । एक वर्षअघि मात्रै दर्ता भएको नागरिक उन्मुक्ति पार्टीले प्रदेश सभाको पहिलो निर्वाचनमै अर्थपूर्ण सहभागिता जनाउँदै छ । प्रत्यक्षतर्फ पाँच र समानुपातिक पद्धतिबाट दुई गरी नागरिक उन्मुक्तिका सात जना प्रदेश सभामा उपस्थित हुन लागेका छन् ।

 यसै गरी प्रत्यक्ष निर्वाचनमा सफल नभए पनि राष्ट्रिय प्रजातन्त्र पार्टीले समानुपातिक प्रणालीमा प्राप्त गरेका मतका आधारमा प्रदेश सभामा सहभागिता जनाउने भएको छ । सुदूरपश्चिममा समानुपातिक प्रणालीमार्फत राप्रपाले एक सिट पाउने निश्चित छ ।

सुदूरपश्चिम प्रदेश सभामा सहभागिता जनाउने जम्मा दलको संख्या भने ६ नै कायम हुने भएको छ । प्रदेश सभाको पहिलो कार्यकालको अन्त्यतिर पनि प्रदेश सभामा सहभागिता जनाउने दलको संख्या ६ पुगेको थियो । २०७४ को निर्वाचनपछि सुरुमा सुदूरपश्चिम प्रदेश सभामा सहभागिता जनाउने दलको संख्या चार थियो । सुरुमा एमाले, माओवादी केन्द्र, नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीको प्रदेश सभामा सहभागिता रहेको थियो ।

५३ सदस्य रहेको सुदूरपश्चिम प्रदेश सभामा प्रत्यक्षतर्फ नेपाली कांग्रेसले १२, माओवादी केन्द्रले आठ, नागरिक उन्मुक्ति पार्टीले पाँच, एकीकृत समाजवादी र एमालेले समान तीन-तीन र एक स्थानमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । सुदूरपश्चिम प्रदेश सभामा २१ जना सदस्य समानुपातिक निर्वाचन पद्धतिबाट छानिने छन् । समानुपातिक प्रणालीमा नेपाली कांग्रेस र नेकपा एमालेले सात-सात, माओवादी केन्द्रले तीन, नागरिक उन्मुक्ति पार्टीले दुई र राप्रपाले एक सिट प्राप्त गर्ने देखिएको छ ।


१९ मंसिर २०७९, सोमवार १७:०३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु